All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #26
April 16, 2026

प्रतिभाको उज्यालो उदाहरण: बान्दरगुरीकी प्रतिमा देवीले नेपाली विषयमा आसामभरि शीर्ष स्थान हासिल

📅 April 16, 2026
✍️ AAGSU
🕒 12:01 AM

बान्दरगुरी, अप्रिल ११ — हिजो घोषणा भएको उच्च माध्यमिक परीक्षाको नतिजाले बान्दरगुरी आञ्चलिक समिति अन्तर्गतको शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको छ। उक्त परीक्षामा प्रतिभाशाली छात्रा सुश्री प्रतिमा देवी (पिता: गंगा कार्की, माता: हिमा देवी, गाउँ: पूर्व नेपालपाडा) ले ७९ प्रतिशत अंक सहित तीनवटा विषयमा लेटर मार्क प्राप्त गर्दै नेपाली विषयमा आसामभरि नै सर्वोच्च १०० अंक ल्याउन सफल हुनुभएको छ। उहाँको यो ऐतिहासिक उपलब्धिले न केवल परिवार र विद्यालयलाई, तर समग्र अञ्चललाई नै गर्वको अनुभूति गराएको छ।

यस गौरवपूर्ण उपलब्धिको सम्मानस्वरूप आज बान्दरगुरी आञ्चलिक समितिका सभापति किरण अधिकारी (Kiran Ksyp Adhikari) को नेतृत्वमा एक प्रतिनिधि टोली प्रतिमा देवीको निवासमा पुगेको थियो। उक्त अवसरमा टोलीले उहाँलाई खादा ओढाई सम्मान तथा अभिनन्दन गरेको थियो। कार्यक्रममा प्रतिमा देवीलाई आगामी दिनहरूमा अझ उच्च शिखर चुम्दै अगाडि बढ्न प्रेरणा, सुझाव तथा परामर्श प्रदान गरिनुका साथै उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा बोल्दै सभापति किरण अधिकारीले प्रतिमा देवीको सफलता सम्पूर्ण अञ्चलका विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो। उहाँले मेहनत, अनुशासन र लक्ष्यप्रति दृढ प्रतिबद्धताले सफलता हासिल गर्न सकिने सन्देश प्रतिमा देवीले स्थापित गर्नुभएको बताउनुभयो।

यस उत्कृष्ट उपलब्धिको पछाडि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बान्दरगुरी उच्च माध्यमिक विद्यालयका नेपाली विषय शिक्षक दीपेन्द्र उपाध्याय (Dipendra Upadhyaya) प्रति पनि आञ्चलिक समितिले विशेष कृतज्ञता व्यक्त गरेको छ। समितिका अनुसार सरको समर्पण, अनुशासन, अथक परिश्रम तथा विद्यार्थीहरूसँगको नजिकको मार्गदर्शनकै कारण यस्तो उत्कृष्ट नतिजा सम्भव भएको हो। शिक्षकको भूमिका केवल पाठ्यपुस्तकमा सीमित नरही विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने कुराको ज्वलन्त उदाहरण दीपेन्द्र उपाध्याय सरले प्रस्तुत गर्नुभएको छ।

यसै सन्दर्भमा, आञ्चलिक समितिले दीपेन्द्र उपाध्याय सरलाई पनि प्रतिमा देवीकै निवासमा निमन्त्रणा गरी सम्मान तथा अभिनन्दन गरेको थियो। कार्यक्रममा सरको योगदानप्रति हार्दिक आभार प्रकट गर्दै उहाँलाई बधाई तथा शुभकामना अर्पण गरियो। साथै, उहाँको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर शैक्षिक यात्रामा सफलता प्राप्त होस् भन्ने कामना व्यक्त गरियो।

अन्त्यमा, प्रतिमा देवीलाई पुनः एकपटक हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्दै समाज, गाउँ, अञ्चल तथा समग्र समुदायको नाम उज्ज्वल पार्दै जानुहोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ। उहाँको यो उपलब्धिले आगामी पुस्तालाई शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्न थप प्रेरणा दिने विश्वास लिइएको छ।

प्रतिवेदक: कालिदास छेत्री- शिक्षा सचिव, बान्दरगुरी आञ्चलिक समिति ।

📤 Share this story
← First Story in Issue
Scroll to Top