
धेमाजी, १४ अप्रिल २०२६ — कलकत्तामा सम्पन्न “Dance Dance Season 2” प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल धेमाजी जिल्ला अन्तर्गत डिमौ लामा बढगडा गाउँकी प्रतिभाशाली नृत्याङ्गना दिया सोनारलाई आज डिमौमा भव्य स्वागत तथा सम्मान गरिएको छ। राष्ट्रियस्तरको मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पार्न सफल सोनारले आफ्नो अद्वितीय प्रतिभामार्फत सम्पूर्ण क्षेत्रको नाम उजागर गरेकी छन्।
दिया सोनारको यस उल्लेखनीय उपलब्धिप्रति गर्व व्यक्त गर्दै डिमौवासी गोर्खा समुदाय तथा अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिमो आञ्चलिक समितिको पहलमा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको हो। आज बिहानै सीसी बरगाउँ रेलवे स्टेसनमा उनलाई औपचारिक स्वागत गरियो, जहाँ स्थानीयवासी, शुभेच्छुक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वागतपछि उनलाई बाजागाजा सहित डिमो लामा बढगडा खेलमैदानमा ल्याई विशेष समारोहका बीच सम्मान गरिएको हो।
समारोहमा वक्ताहरूले दिया सोनारको सफलताले सम्पूर्ण युवापुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गर्दै कला क्षेत्रमा अघि बढ्न चाहनेहरूका लागि उनी एक प्रेरणाको स्रोत बनेकी बताउनुभयो। उहाँहरूको अनुसार यस्तो उपलब्धिले गोर्खा समुदायको पहिचानलाई थप सशक्त बनाएको छ।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिमो आञ्चलिक समितिका उपसभापति बिरेन गिरी, सम्पादक प्रदिप धमाला, क्रिया सचिव सन्जु गिरी तथा सदस्य जगन्नाथ क्षेत्रीको विशेष उपस्थिति रहेको थियो। उनीहरूले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
दिया सोनारको यो सफलता केवल व्यक्तिगत उपलब्धिमा सीमित नभई सम्पूर्ण डिमौ क्षेत्र र गोर्खा समुदायका लागि गर्वको विषय बनेको छ। उनको मिहिनेत, लगनशीलता र समर्पणको उच्च मूल्यांकन गर्दै उपस्थित सबैले उनको उज्ज्वल भविष्यको कामना गरेका छन्। साथै यस्ता सम्मान कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र प्रतिभाशाली युवाहरूलाई थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिवेदक: प्रदिप धमाला- मूल- सचिव, डिमौ आञ्चलिक समिति ।