
उदालगुडी, 12 अप्रिल 2026: उदालगुरी जिल्लाका दुई होनहार चेलीहरूको ऐतिहासिक शैक्षिक सफलतालाई सम्मान गर्दै अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुरी जिल्ला समितिद्वारा एक विशेष अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ। शिक्षा सचिव श्री रुपम आत्रेयज्यूको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले जिल्लामा शिक्षा क्षेत्रप्रति उत्साह र प्रेरणाको वातावरण सिर्जना गरेको छ।
हालै सार्वजनिक भएको HSLC परीक्षाको नतिजामा खैराङ आञ्चलिक अन्तर्गत श्री बाबुराम बस्नेत र श्रीमती जानुका देवीकी सुपुत्री अदिति छेत्री तथा बान्दरगुडी आञ्चलिक अन्तर्गत श्री गङ्गा बहादुर छेत्री र श्रीमती हिमा देवीकी सुपुत्री प्रतिमा देवीले नेपाली विषयमा १०० मा १०० पूर्णाङ्क हासिल गरी जिल्लाकै नाम उजागर गर्न सफल भएका छन्। यस उल्लेखनीय उपलब्धिले सम्पूर्ण विद्यार्थी वर्गका लागि उदाहरणीय सन्देश प्रवाह गरेको छ।
उक्त ऐतिहासिक सफलताको कदर गर्दै जिल्ला समितिको टोलीले दुवै छात्राहरूको निवासमै पुगेर सम्मान तथा अभिनन्दन अर्पण गरेको हो। कार्यक्रममा छात्राहरूलाई सम्मान पत्र प्रदान गर्नुका साथै उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गरिएको थियो। टोलीले उनीहरूको निरन्तर प्रगति र आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमका क्रममा वक्ताहरूले मेहनत, अनुशासन, लगनशीलता र समर्पणले मात्र यस्ता उत्कृष्ट उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्दै यस सफलताबाट अन्य विद्यार्थीहरूले पनि प्रेरणा लिनुपर्नेमा जोड दिएका थिए। यस प्रकारको सम्मान कार्यक्रमले समाजमा शिक्षाप्रति सकारात्मक सोच विकास गर्ने र प्रतिभावान विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको छ।
उक्त कार्यक्रममा आग्सु केन्द्रीय समितिका सांगठनिक सचिव श्री दुर्गा बस्नेत, जिल्ला समितिका सभापति श्री राम छेत्री, उपसभापति श्री दुर्गा बस्नेत, मुल सचिव श्री किशोर सिर्पाली, सहसचिव श्री हेमराज छेत्री, प्रचार सचिव श्री तिलक शर्मा, सह शिक्षा सचिव श्री दीपक अधिकारी तथा कार्यकारिणी सदस्यहरू विकास भट्टराई र मनोज राउतको सक्रिय उपस्थिति रहेको थियो।
यसका साथै टंला आञ्चलिक समितिका मुल सचिव श्री सञ्जय छेत्री, खैराङ आञ्चलिक समितिका सभापति, भारप्राप्त मुल सचिव, शिक्षा सचिव तथा बान्दरगुडी आञ्चलिक समितिका शिक्षा सचिव लगायत विभिन्न आञ्चलिक तहका नेतृत्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई अझ प्रभावकारी र सफल बनाएको थियो।
समग्रमा, उक्त अभिनन्दन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आयोजक जिल्ला समितिले कार्यक्रममा सहभागी सम्पूर्ण पदाधिकारी, अभिभावक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिवेदन : सञ्जय छेत्री- मुल सचिव, टङला आञ्चलिक समिति।