
बिश्वनाथ, १९ अप्रिल: अखिल असम गोर्खा छात्र संघ (आग्सू), बिश्वनाथ जिल्ला समितिको अन्तर्गत राजगड़ आंचलिक समिति र बिश्वनाथ सदर आंचलिक समितिको आयोजनामा महान गायिका तथा ‘स्वर साम्राज्ञी’ आशा भोसलेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक विशेष शोक तथा श्रद्धाञ्जली सभा सफलतापूर्वक सम्पन्न भएको छ। बिश्वनाथको बालिपुखुरी र गहपुरको राजगढमा आ-आफ्नो क्षेत्रमा आयोजना गरिएको उक्त कार्यक्रममा बिश्वनाथ जिल्ला समितिका सभापति सुनिल सुतार, कार्यवाहक. मूल सचिव नबदीप छेत्री र शिक्षा सचिव नुमल उपाध्याय लगायत अन्य पदाधिकारी तथा सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सम्पूर्णले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धासुमन अर्पण गरेका थिए। आशा भोसलेको निधनले विश्व संगीत जगतमा कहिल्यै पूर्ति हुन नसक्ने अपूरणीय क्षति भएको र यस वियोगले आफूहरू अति मर्माहत भएको संघले जनाएको छ।
आफ्नो जादुमयी आवाजले दशकौंसम्म विश्वभरका स्रोताहरूलाई मन्त्रमुग्ध पारेकी लिजेन्डरी गायिका आशा भोसलेले आफ्नो सांगीतिक जीवनमा हिन्दी, मराठी, बंगाली लगायत थुप्रै भाषाहरूमा हजारौं गीतहरूमा आवाज दिएकी थिइन्। उहाँको बहुमुखी प्रतिभा र जुनसुकै विधाका गीतहरूलाई जीवन्त बनाउन सक्ने अद्भुत कलाले उहाँलाई संगीतको इतिहासमा सर्वोच्च र सम्मानित स्थानमा स्थापित गरेको छ। भारतीय सिनेमा र संगीतमा मात्र नभई नेपाली सुगम संगीत र चलचित्र क्षेत्रमा पनि आशा भोसलेको योगदान अतुलनीय र अविस्मरणीय रहेको कुरा कार्यक्रममा विशेष रूपमा स्मरण गरिएको थियो। नेपाली भाषा मातृभाषा नभए तापनि उहाँको स्पष्ट उच्चारण र भावनात्मक गायकीले थुप्रै नेपाली गीतहरूलाई कालजयी बनाएको छ।
सन् १९६६ को नेपाली चलचित्र ‘माइतीघर’ को चर्चित गीत “वसन्त नै बस्न खोज्छ यहाँ…” बाट नेपाली सांगीतिक क्षेत्रमा पाइला राखेकी भोसलेले स्वरसम्राट नारायण गोपालसँग मिलेर गाएका युगल गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्। ‘मोहनी लाग्ला है’, ‘पहाडको माथि माथि’, ‘साउने झरीमा’, ‘गहिरी खेतको शिरै हान्यो’, ‘किन बढ्दैछ ढुकढुकी मुटुको’ र ‘यति धेरै माया दियौ’ जस्ता सर्वाधिक लोकप्रिय गीतहरूमार्फत उहाँले नेपाली संगीत प्रेमीहरूको हृदयमा सधैंका लागि अमिट छाप छोड्नुभएको छ। यस श्रद्धाञ्जली कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि र सदस्यहरूले उहाँको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गर्दै सांगीतिक क्षेत्रमा उहाँले पुर्याएको ऐतिहासिक योगदानको भावपूर्ण स्मरण गरेका थिए। भौतिक रूपमा बिदा भए तापनि आशा भोसले आफ्ना हजारौं अजर-अमर गीतहरूमार्फत सम्पूर्ण संगीत प्रेमीहरूको ढुकढुकीमा सदैव जीवित रहनुहुनेछ भन्ने भावनाका साथ दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम सम्पन्न भएको छ।
प्रतिवेदक: नवदीप छेत्री- कार्यवाहक मूल-सचिव, बिश्वनाथ जिल्ला समिति।