All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #27
April 23, 2026

अखिल असम गोर्खा छात्र संघद्वारा अविभाजित बाक्सा जिल्लाका पूर्व सभापति स्व. मोहन गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली

📅 April 23, 2026
✍️ AAGSU
🕒 12:01 AM

बाक्सा, १८ अप्रिल २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को अविभाजित बाक्सा जिल्ला समितिका पूर्व सभापति तथा समाजका एक अथक योद्धा, प्रतिष्ठित समाजसेवी मोहन गौतमज्यूको असामयिक निधनप्रति संगठनले गहिरो शोक व्यक्त गरेको छ। सन् १९७४ जनवरी १ तारिखमा जन्मिनुभएका गौतमको गत ९ अप्रिल २०२६ का दिन निधन भएको थियो।

यस शोकको घडीमा, आज मिति १८ अप्रिल २०२६ (शनिबार) का दिन आग्सुका केन्द्रीय कार्यवाहक सभापति श्रीमान् सन्जिव चौहानज्यूको नेतृत्वमा संगठनको एक विशाल संयुक्त टोलीले बाक्सा जिल्लाअन्तर्गत सुवानखाटास्थित स्व. गौतमको निवासमा पुगेर शोक सन्तप्त परिवारजनलाई भेटेको छ। टोलीले परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। उक्त भेटघाट तथा समवेदना कार्यक्रममा आग्सु केन्द्रीय समिति, बि.टि.सी. क्षेत्रीय समिति, बाक्सा जिल्ला समिति, तामुलपुर जिल्ला समिति, साथै बास्का आञ्चलिक, हिमाली आञ्चलिक र सुवनखाटा आञ्चलिक समितिका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

सो अवसरमा केन्द्रीय समितिको तर्फबाट कार्यवाहक सभापति सन्जिव चौहान र मूल-सचिव नुमल क्षेत्रीद्वारा हस्ताक्षरित एक औपचारिक शोक पत्र (Ref No. AAGSU/2026/GM/033) समेत परिवारलाई हस्तान्तरण गरिएको थियो।

संगठनद्वारा जारी शोक पत्रमा स्व. मोहन गौतमले आफ्नो जीवनकालमा गोर्खा जाति, समाज र संगठनको श्रीवृद्धिका निम्ति पुर्‍याउनुभएको अतुलनीय एवं निस्वार्थ योगदानलाई इतिहासमा स्वर्ण अक्षरले लेखिने कुरा उल्लेख गरिएको छ। उहाँको कुशल नेतृत्व, सरल व्यक्तित्व, अदम्य साहस र सामाजिक उत्तरदायित्वप्रतिको निष्ठा समग्र गोर्खा समुदायका निम्ति एक अमूल्य धरोहर रहेको संगठनले जनाएको छ। विशेषगरी दुःख र सङ्कटमा परेका सीमान्तकृत वर्गको आवाज बन्ने उहाँको महान् सेवाभावको आग्सुले उच्च मूल्यांकन गरेको छ।

“एउटा सच्चा र इमानदार अभिभावक गुमाउँदा सिंगो संगठनले अपूरणीय क्षति महसुस गरेको छ,” आग्सुले भनेको छ। यस दुःखद र मर्माहत घडीमा सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै असीम दुःखमा संगठन काँधमा काँध मिलाएर सँगै उभिएको विश्वास दिलाइएको छ।

अन्तमा, सम्पूर्ण उपस्थित टोलीले परमेश्वरसमक्ष दिवंगत पुण्यात्माको वैकुण्ठ बास तथा चिरशान्तिको हार्दिक कामना गर्दै, यस अकल्पनीय वज्रपाततुल्य शोकलाई सहन गर्ने शक्ति, धैर्य र साहस सम्पूर्ण परिवारजनलाई प्राप्त होस् भनी भावपूर्ण प्रार्थना गरेका थिए।

📤 Share this story
← First Story in Issue
Scroll to Top