All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #30
May 14, 2026

धेमाजी गोर्खा छात्र संघको तत्परतामा उद्धार गरिए दुई किशोरी, एक युवक पक्राउ

📅 May 14, 2026
✍️ AAGSU
🕒 12:05 AM

धेमाजी, ८ मे: अखिल असम गोर्खा छात्र संघ (आग्सु) धेमाजी जिल्ला समितिको सक्रियता तथा असम प्रहरीको सफल अभियानमार्फत लामो समयदेखि बेपत्ता रहेका दुई किशोरीलाई सकुशल उद्धार गर्न सफल भएको घटनाले सम्पूर्ण क्षेत्रमा राहत र सन्तोषको वातावरण सिर्जना गरेको छ। घटनासँग सम्बन्धित एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्राप्त जानकारीअनुसार धेमाजी जिल्लाको जरामपुर पञ्चायत अन्तर्गत लालुकियान गाउँ निवासी अनिता ताँती (१७) तथा गायत्री पाठक (१६) नामक दुई किशोरी गत २९ मार्चदेखि अचानक बेपत्ता भएका थिए। परिवारजनले विभिन्न स्थानमा खोजीकार्य गरे पनि कुनै ठोस जानकारी प्राप्त हुन नसकेपछि घटनाले स्थानीय क्षेत्रमा चिन्ताको अवस्था उत्पन्न भएको थियो। त्यसपछि परिवारका सदस्यहरूले असम प्रहरीसँग सम्पर्क गर्नुका साथै अखिल असम गोर्खा छात्र संघ (आग्सु) धेमाजी जिल्ला समितिलाई पनि घटनाबारे जानकारी गराएका थिए।

घटनापछि आग्सु धेमाजी जिल्ला समितिले तत्काल पहल गर्दै जिल्ला प्रहरी प्रशासनसँग समन्वय गरी खोजी अभियानलाई तीव्र बनाएको थियो। संगठनका पदाधिकारीहरूले परिवारसँग निरन्तर सम्पर्क राख्दै आवश्यक सहयोग पुर्‍याएका थिए। प्रहरीको अनुसन्धान तथा खोजी अभियानको क्रममा शुक्रबार जम्मु–कश्मीरको उधमपुर जिल्लाअन्तर्गत शक्ति नगर क्षेत्रमा दुवै किशोरीलाई सकुशल अवस्थामा फेला पारिएको बताइएको छ। उधमपुर प्रहरीको सहयोगमा उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो।

यस घटनासँग सम्बन्धित मोहन लाल (१८) नामक एक युवकलाई असम प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका युवकलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि हिरासतमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। घटनाको वास्तविक कारण तथा अन्य सम्भावित पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको पनि बताइएको छ।

घटनाको सफल समाधानपछि अखिल असम गोर्खा छात्र संघ (आग्सु) धेमाजी जिल्ला समितिले असम प्रहरी तथा उधमपुर प्रहरी प्रशासनप्रति विशेष आभार व्यक्त गरेको छ। संगठनले मानवता, सामाजिक उत्तरदायित्व तथा युवापुस्ताको सुरक्षामा प्रहरी प्रशासनले देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गरेको छ।

यस सम्बन्धमा प्रतिक्रिया व्यक्त गर्दै आग्सु धेमाजी जिल्ला समितिका प्रतिनिधिहरूले समाजमा यस्ता घटनाप्रति सबै सचेत रहनुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूले किशोर–किशोरीको सुरक्षालाई प्राथमिकता दिँदै अभिभावक, सामाजिक संस्था तथा प्रशासनबीच समन्वय अझ बलियो हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

उद्धार कार्यमा विशेष भूमिका निर्वाह गर्ने प्रहरी अधिकारीहरू तथा सहयोगी टोलीप्रति आग्सुले सार्वजनिक रूपमा धन्यवाद ज्ञापन गरेको छ। संगठनका अनुसार असम प्रहरीका वरिष्ठ अधिकारी पाराग भुइयाँ, कनिष्ठ अधिकारी अजित दास, सोनामणि चुतिया तथा उधमपुर प्रहरी टोलीको सक्रिय भूमिकाले नै उद्धार अभियान सफल भएको हो। साथै आग्सु धेमाजी जिल्ला समितिका मूल-सचिव दिलीप खनालले पनि घटनाको सफल समाधानमा साथ दिने सम्पूर्ण पक्षप्रति कृतज्ञता प्रकट गरेका छन्।

📤 Share this story
Scroll to Top