All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #30
May 14, 2026

आग्सु को भग्नी संगठन गोर्खा नारी परिषद तिनसुकिया जिल्ला समितिको कार्यनिर्वाहक सभा सम्पन्न

📅 May 14, 2026
✍️ AAGSU
🕒 12:05 AM

तिनसुकिया, १० मे २०२६ : आईतबार: तिनसुकिया बोरगुरी स्थित गोर्खा भवनमा गोर्खा नारी परिषद तिनसुकिया जिल्ला समितिको कार्यनिर्वाहक सभा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो।सभाको प्रारम्भ संस्थागत मर्यादा तथा औपचारिक कार्यक्रमअनुसार गरिएको थियो।

उक्त सभामा जिल्ला समितिकी सभानेत्री जिना घिमिरे ज्यूले सभापतित्व गर्दै महिला सशक्तीकरण, सामाजिक एकता तथा संगठनलाई अझ सुदृढ बनाउने विषयमा आफ्ना विचार व्यक्त गर्नुभयो। उहाँले गोर्खा नारी परिषदले समाजमा महिलाहरूको हक, अधिकार, पहिचान तथा नेतृत्व विकासका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा संगठनलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन सबै सदस्यहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

सभाको उद्देश्य तथा कार्यक्रममाथि प्रकाश पार्दै जिल्ला सम्पादिका अम्बिका लिम्बू ज्यूले परिषद्को भावी योजना, संगठन विस्तार, महिला सहभागिता अभिवृद्धि तथा सामाजिक कार्यहरूलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकताबारे विस्तृत रूपमा व्याख्या गर्नुभयो। उहाँले संगठनलाई गाउँ–गाउँसम्म पुर्‍याउन आञ्चलिक तहमा समिति गठन अत्यन्त आवश्यक रहेको बताउँदै महिलाहरूलाई आत्मनिर्भर, सक्षम तथा संगठित बनाउने दिशामा परिषद्ले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।

सभामा विभिन्न महत्त्वपूर्ण विषयहरूमाथि गम्भीर तथा विस्तृत छलफल गरिएको थियो। विशेषगरी महिला नारी परिषदको छुट्टै युनिफर्म हुनुपर्ने प्रस्तावमाथि सहभागीहरूले सकारात्मक धारणा व्यक्त गरेका थिए। एउटै पोशाकले संगठनप्रति पहिचान, अनुशासन र एकताको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको थियो। त्यस्तै, जिल्ला समितिअन्तर्गत आञ्चलिक समितिहरू गठन गरी संगठनलाई जरोस्तरसम्म विस्तार गर्नुपर्ने विषयमा समेत सहभागीहरूले जोड दिएका थिए। यसले स्थानीय स्तरमा महिलाहरूको सहभागिता बढ्नुका साथै संगठनात्मक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरियो।

त्यसैगरी, फुलबा शेर्पा लाई जिल्ला समितिमा समावेश गर्ने प्रस्तावमाथि पनि व्यापक छलफल भएको थियो। समाजका विभिन्न समुदाय तथा वर्गलाई एउटै साझा मञ्चमार्फत एकताबद्ध गर्दै आपसी सहकार्य, सद्भाव र सामाजिक समन्वयलाई अझ बलियो बनाउने उद्देश्यले उक्त प्रस्तावलाई महत्त्वपूर्ण रूपमा हेरिएको थियो।

कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समितिका मुख्य सल्लाहकार अशोक लामा, सभापति देव गुरुङ, उपसभापति शेखर गुरुङ, सहसचिव सोनु तेम्बे तथा सांगठनिक सचिव जतन प्रधानको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले गोर्खा नारी परिषदले महिला नेतृत्व विकास, सामाजिक जागरण तथा समुदायिक उत्थानका क्षेत्रमा गरिरहेको कार्यको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुख्य सल्लाहकार अशोक लामाज्यूले महिला सशक्तीकरण बिना समाजको समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै शिक्षित, संगठित र आत्मनिर्भर महिलाहरू नै सभ्य समाजको आधार भएको बताउनुभयो। सभापति देव गुरुङज्यूले युवा पुस्ता र महिला संगठनबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै सामाजिक परिवर्तनका लागि संयुक्त प्रयास अपरिहार्य भएको उल्लेख गर्नुभयो। अन्य अतिथिहरूले पनि संगठनको प्रगतिका लागि रचनात्मक सुझाव राख्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रम अन्त्यतिर सभामा प्रस्तुत विभिन्न प्रस्तावहरूमाथि सहमति जनाउँदै आगामी दिनमा ती योजनाहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरिएको थियो। साथै, संगठनलाई अझ सशक्त, सक्रिय तथा जनमुखी बनाउने उद्देश्यले आगामी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिने जानकारी दिइयो।

अन्त्यमा सभानेत्री जिना घिमिरे ज्यूले उपस्थित सम्पूर्ण अतिथि, पदाधिकारी, सदस्य तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सबैको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। आपसी एकता, सहकार्य र समर्पणकै माध्यमबाट गोर्खा नारी परिषदलाई अझ उन्नत र सशक्त संगठनका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्दै सभा समापन गरिएको थियो।

प्रतिवेदक: जतन प्रधान-सांगठनिक सचिव (IT Incharge) तिनसुकिया जिल्ला समिति ।

📤 Share this story
Scroll to Top