All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #31
May 21, 2026

आग्सु बामुनजुलि आञ्चलिक समितिद्वारा शैक्षिक कार्यशाला तथा अभिनन्दन कार्यक्रम आयोजना हुनेछ

📅 May 21, 2026
✍️ AAGSU
🕒 12:06 AM

बामुन्जुली, २० मे २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बामुनजुलि आञ्चलिक समितिले विद्यार्थीहरूको शैक्षिक उन्नयन, प्रेरणा तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आगामी २४ मे २०२६, आइतबार एक विशेष शैक्षिक कार्यशाला तथा अभिनन्दन कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आञ्चलिक समितिको आफ्नै कार्यालयमा सम्पन्न हुने छ।

कार्यक्रम आञ्चलिक क्षेत्रभित्र उच्च तथा उच्चतर माध्यमिक परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै समाजप्रति योगदान पुर्‍याउँदै आएका अवकाशप्राप्त शिक्षक, पूर्व आञ्चलिक कर्मी तथा हालै विभिन्न सरकारी सेवामा नियुक्ति प्राप्त गरी सफलता हासिल गरेका व्यक्तिहरूलाई समेत विशेष रूपमा अभिनन्दन तथा सम्मान गरिनेछ।

कार्यक्रममा मुख्य अनुप्रेरक वक्ताको रूपमा ASSISTANT ACCOUNTS OFFICER श्री नवीन निरौला ज्यूको विशेष उपस्थिति रहनेछ भने मुख्य अतिथिको रूपमा अखिल असम गोर्खा छात्र संघ, उदालगुडी जिल्ला समितिका सभापति श्री राम छेत्री ज्यू उपस्थित हुनुहुनेछ। त्यसैगरी निर्दिष्ट वक्ताको रूपमा जिल्ला समितिका मूल सचिव श्री किशोर सिर्पाली ज्यूको पनि उपस्थिति रहनु हुन्छ।

त्यस्तै, उक्त अभिनन्दन समारोहको उद्घाटन जिल्ला समितिका शिक्षा सचिव श्री रुपम आत्रेय ज्यूले गर्नुहुनेछ। उहाँले कार्यक्रमको उद्घाटनसँगै विद्यार्थी तथा अभिभावकहरूलाई सम्बोधन गर्दै शिक्षा, अनुशासन तथा भविष्य निर्माणसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा प्रेरणादायी विचार व्यक्त गर्नुहुनेछ।

शिक्षा केवल व्यक्तिगत सफलता प्राप्त गर्ने माध्यम मात्र नभई समाज परिवर्तनको सशक्त आधार पनि भएकाले विद्यार्थीहरूलाई सही मार्गदर्शन, प्रेरणा र अवसर प्रदान गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। साथै, विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।

कार्यक्रमलाई सफल बनाउन तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणको अभियानमा सहभागी हुन सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा समाजका सचेत नागरिकहरूलाई आञ्चलिक समितिले हार्दिक उपस्थितिको लागि अनुरोध गरेको छ।

प्रतिवेदन: श्री भानु लामा, मुल सचिव, आग्सु, बामुन्जुली आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top