All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #34
June 11, 2026

तिनसुकियामा सदौ असम सोनोवाल कसारी छात्र संस्थाको अभिनन्दन समारोहमा आग्सु उपस्थित

📅 June 11, 2026
✍️ AAGSU
🕒 12:06 AM

तिनसुकिया, ३१ मे २०२६: आईतबार कृतिमान विद्यार्थीहरूको सम्मानमा सदौ असम सोनोवाल कसारी छात्र संस्था तिनसुकिया जिल्ला समितिको द्वारा भव्य अभिनन्दन समारोह सम्पन्न । डांग्री स्थित गोपीनाथ बोरदोलोई स्मृति क्लबमा उच्च तथा उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका कृतिमान विद्यार्थीहरूलाई सम्मान गर्न विशेष अभिनन्दन तथा सम्मान समारोहको भव्य आयोजना गरेको छ। शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, समाजसेवी, शिक्षाप्रेमी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात दीप प्रज्वलन तथा स्वागत मन्तव्यबाट गरिएको थियो। आयोजक संस्थाका पदाधिकारीहरूले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै समाजको समग्र विकासका लागि शिक्षा नै सबैभन्दा महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनीहरूले विद्यार्थीहरूलाई केवल परीक्षा उत्तीर्ण गर्न मात्र नभई असल नागरिकका रूपमा समाज र राष्ट्र निर्माणमा योगदान दिन प्रेरित गरे।
समारोहमा उच्च तथा उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा ल्याई संस्थान, विद्यालय तथा समाजको नाम उज्ज्वल बनाएका विद्यार्थीहरूलाई खादा, प्रशंसापत्र तथा स्मृति चिन्ह प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई भविष्यमा अझ उच्च शैक्षिक उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको कठिन परिश्रम, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै अभिभावक तथा शिक्षकहरूको योगदानलाई समेत विशेष रूपमा स्मरण गरिएको थियो।
उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ, तिनसुकिया जिल्ला समितिका सभापति देव गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। आफ्नो सम्बोधनमा उनले शिक्षा समाज रूपान्तरणको प्रमुख साधन भएको बताउँदै विद्यार्थीहरूले प्रतिस्पर्धात्मक युगमा ज्ञान, सीप र नैतिक मूल्यलाई समान रूपमा आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याए। उनले सम्मानित विद्यार्थीहरूलाई निरन्तर मेहनत र सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, अखिल असम गोर्खा छात्र संघका सांस्कृतिक सचिव मुकेश विश्वकर्माले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै युवापुस्ताले आफ्नो भाषा, संस्कृति र पहिचानलाई संरक्षण गर्दै आधुनिक शिक्षाको माध्यमबाट समाजलाई नेतृत्व प्रदान गर्नुपर्ने धारणा राखे। उनले शिक्षा र संस्कृतिको समन्वयले मात्र सशक्त समाज निर्माण सम्भव हुने बताए।
कार्यक्रममा संघका सक्रिय सदस्य मुन्ना प्रधानको पनि विशेष उपस्थिति रहेको थियो। उनले सम्मानित विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गरी समाजका लागि प्रेरणाको स्रोत बन्न आग्रह गरे। उनले युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति सचेत रहन र समाजसेवाका कार्यहरूमा सक्रिय सहभागिता जनाउन पनि प्रेरित गरे।
समारोहका क्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, प्रेरणादायी वक्तव्य तथा विद्यार्थीहरूको अनुभव आदानप्रदान कार्यक्रमसमेत सम्पन्न गरिएको थियो। सम्मानित विद्यार्थीहरूले आफ्नो सफलता पछाडिको संघर्ष, अभिभावक तथा शिक्षकहरूको सहयोग र भविष्यका लक्ष्यबारे विचार व्यक्त गरेका थिए। उनीहरूको अनुभवले कार्यक्रममा उपस्थित अन्य विद्यार्थीहरूलाई पनि प्रेरित गरेको थियो।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले सहभागी सबै अतिथि, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको थियो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge), तिनसुकिया जिल्ला समिति ।

📤 Share this story
Scroll to Top