
उदालगुडी, ९ जुन २०२६: असम गोर्खा सम्मेलन, उदालगुडी जिल्ला समितिको आह्वानमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), असम नेपाली साहित्य सभा (अनेसास) तथा भारतीय गोर्खा परिसंघ (भागोप) का प्रतिनिधिहरूको एक संयुक्त सभा उदालगुडीमा सम्पन्न भएको छ।
सभामा आग्सु उदालगुडी जिल्ला समितिकाे पक्षबाट मूल सचिव किशोर सिर्पाली, सांगठनिक सचिव पवन खनाल, प्रचार सचिव तिलक शर्मा, कार्यकारिणी सदस्य मनोज कुमार राउतकाे उपस्थिति रहेको थियो।
सम्पन्न सभामा असम गोर्खा सम्मेलनको आगामी केन्द्रीय अधिवेशन तथा निकट भविष्यमा हुने लोकपियल सम्बन्धी विभिन्न विषयमा विस्तृत छलफल गरिएको थियो। छलफलका क्रममा गोर्खा समाजको एकता, संगठनहरूको समन्वय तथा समाजको सर्वाङ्गीण हितलाई केन्द्रमा राख्दै साझा धारणा निर्माण गर्ने विषयमा विशेष जोड दिइएको थियो।
सभामा सहभागी प्रतिनिधिहरूले गोर्खा समाजसँग सम्बन्धित महत्वपूर्ण मुद्दाहरूमा आपसी सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए। साथै, आगामी अधिवेशन तथा लोकपियललाई सफल र प्रभावकारी बनाउन सबै पक्षबीच साझा सहमति कायम गर्दै अघि बढ्ने निर्णय गरिएको जानकारी दिइएको छ।
उक्त सभाले गोर्खा समाजको हित, अधिकार तथा विकासका लागि विभिन्न सामाजिक, शैक्षिक र सांस्कृतिक संगठनहरूबीच सहकार्यको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। सभामा सहभागी सबै संगठनका प्रतिनिधिहरूले समाजको बृहत्तर हितलाई सर्वोपरि राखेर एकताबद्ध रूपमा कार्य गर्ने प्रतिबद्धता जनाएका थिए।
प्रतिवेदक : श्री मनोज कुमार राउत, कार्यकारिणी सदस्य। आग्सु उदालगुडी जिल्ला समिति।