
हाफलङ, ७ जुनः अखिल असम गोर्खा छात्र संघ (आग्सु) हाफलङ आञ्चलिक समितिको एक महत्वपूर्ण साधारण सभा आइतबार कृष्ण नगर गोर्खाली बस्ती, हाफलङमा समितिका सभापति विशाल जोशीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा आञ्चलिक समितिका पदाधिकारी, सदस्य तथा सक्रिय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभा बिहान ११ बजे सभापति विशाल जोशीको स्वागत मन्तव्यसँगै प्रारम्भ भएको थियो। सभामा संगठनको वर्तमान गतिविधि, आगामी कार्ययोजना, विद्यार्थी हितसँग सम्बन्धित विविध विषय तथा हाफलङ आञ्चलिक समितिलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी सदस्यहरूले संगठनलाई अझ गतिशील बनाउने, विद्यार्थी समुदायका समस्याहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने सम्बन्धमा आ–आफ्ना सुझाव तथा धारणा प्रस्तुत गरेका थिए।
सभामा उप-सभापति सुरज भण्डारी थापा, मूल–सचिव रूपक शर्मा, स्वयंसेवक प्रमुख सञ्जु भुसाल, प्रचार सचिव जयराज थापा, सांस्कृतिक सचिव प्रदीप पाण्डे तथा सहायक सांस्कृतिक सचिव दीपक क्षेत्री लगायत अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। उपस्थित पदाधिकारीहरूले संगठनात्मक एकता, अनुशासन र सक्रियताको माध्यमबाट हाफलङ क्षेत्रमा आग्सुको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
छलफलका क्रममा आगामी दिनहरूमा विद्यार्थी तथा समाज केन्द्रित जनचेतनामूलक अभियान सञ्चालन गर्ने, विभिन्न शैक्षिक तथा सामाजिक गतिविधिहरू आयोजना गर्ने तथा गोर्खा समुदायका विद्यार्थीहरूलाई संगठनसँग जोड्ने पहललाई प्राथमिकता दिने निर्णय गरिएको जानकारी प्राप्त भएको छ। साथै, सांस्कृतिक पहिचानको संरक्षण तथा युवा पुस्तामा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने विषयमा समेत गम्भीरतापूर्वक विचार-विमर्श गरिएको थियो।
सभामा संगठनात्मक संरचनालाई थप बलियो बनाउँदै प्रत्येक सदस्यको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा विशेष जोड दिइएको थियो। समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा विद्यार्थीहरूको समस्या र आवश्यकतालाई सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा उठान गर्ने विषयलाई पनि प्राथमिकताका साथ छलफल गरिएको थियो।
अन्त्यमा सभापति विशाल जोशीले उपस्थित सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै संगठनको उद्देश्य प्राप्तिका लागि एकताबद्ध भएर जिम्मेवार ढंगले कार्य गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले आग्सुको गौरवशाली इतिहासलाई आत्मसात् गर्दै विद्यार्थी र समाजको हितमा निरन्तर क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो।
उक्त साधारण सभा विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै दिउँसो १ बजे औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरिएको थियो।
प्रतिवेदक: पदम छेत्री- सुचना एवं प्रविधि सचिव, हाफलङ आञ्चलिक समिति ।