
धेमाजी, १० जुनः अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिको १८औ द्विवार्षिक अधिवेशन धेमाजी जिल्ला समितिको आतिथ्यमा आगामी १२ जुलाई २०२६ मा सम्पन्न हुने भएको परिप्रेक्ष्यमा अधिवेशनलाई भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सफल बनाउन धेमाजी जिल्ला समितिले तयारीलाई तीव्र बनाएको छ। यसै सिलसिलामा आज डिमौ गोलाईस्थित गोर्खा भवनमा जिल्ला समितिको एक महत्वपूर्ण कार्यसमिति बैठक सम्पन्न भयो।
जिल्ला समितिका सभापति सोमराज पुरीको सभापतित्वमा सम्पन्न उक्त बैठकमा अधिवेशनको समग्र तयारी, व्यवस्थापन तथा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकमा प्रतिनिधि तथा अतिथिहरूको आवास व्यवस्था, यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, प्रचार–प्रसार, अतिथि सत्कार, आर्थिक व्यवस्थापन तथा कार्यक्रमस्थलको आवश्यक पूर्वाधार निर्माण लगायतका विविध पक्षबारे गम्भीर समीक्षा गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरिएको जानकारी दिइयो।
बैठकमा अधिवेशनलाई सफल बनाउन जिल्लाभरिका संगठनकर्मी, समाजसेवी, बुद्धिजीवी, शुभेच्छुक तथा गोर्खा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरिएको थियो। साथै अधिवेशनको सफल सञ्चालनका लागि एक सशक्त स्वागतकारिणी समिति गठन गर्ने निर्णयलाई पनि विशेष प्राथमिकताका साथ अघि बढाइएको छ।
यसै उद्देश्यले आगामी १२ जुन २०२६ शुक्रबार बिहान ११ बजे सिलापथारस्थित गोर्खा भवनमा एक विशेष आमसभा आयोजना गरिने निर्णय बैठकले गरेको छ। उक्त आमसभामार्फत १८औ द्विवार्षिक अधिवेशनका लागि स्वागतकारिणी समिति गठन गरिनुका साथै अधिवेशनलाई सफल बनाउन आवश्यक विविध उपसमितिहरू समेत गठन गरिने जनाइएको छ।
जिल्ला समितिले समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सामाजिक अगुवा, शिक्षाविद्, बुद्धिजीवी, युवा तथा गोर्खा समुदायका सम्पूर्ण सदस्यहरूलाई उक्त विशेष आमसभामा उपस्थित भई आफ्नो अमूल्य सुझाव, रचनात्मक विचार तथा सक्रिय सहभागितामार्फत अधिवेशनलाई सफल बनाउन सहयोग पुर्याउन हार्दिक अनुरोध गरेको छ।
बैठकमा बोल्दै जिल्ला समितिका पदाधिकारीहरूले अखिल असम गोर्खा छात्र संघको १८औ द्विवार्षिक अधिवेशन केवल संगठनको नियमित कार्यक्रम मात्र नभई सम्पूर्ण गोर्खा समुदायको गौरव र एकताको प्रतीक भएको उल्लेख गरे। उनीहरूले धेमाजी जिल्ला समितिलाई प्राप्त भएको यस महत्वपूर्ण जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्न सबै पक्षको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्दै आगामी विशेष आमसभालाई ऐतिहासिक रूपमा सफल बनाउन सबैलाई सहभागी हुन आह्वान गरे।
प्रतिवेदक: दिलिप खनाल-मूल-सचिव, धेमाजी जिल्ला समिति ।