
गोवालपारा, ८ जुनः गोवालपारा जिल्लाको दामरामा राभा समुदायको परम्परागत सांस्कृतिक पर्व ‘बायखो’ उत्सव तथा सष्ठ अनुसूची माग समितिको २३औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न भएको छ। सष्ठ अनुसूची माग समितिको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विभिन्न सामाजिक, सांस्कृतिक तथा विद्यार्थी संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात परम्परागत राभा सांस्कृतिक प्रस्तुति, सामूहिक प्रार्थना तथा स्वागत कार्यक्रमबाट गरिएको थियो। कार्यक्रममा राभा समुदायको मौलिक संस्कृति, परम्परा, भाषा तथा पहिचान संरक्षणको आवश्यकतामाथि विशेष जोड दिइएको थियो। उपस्थित वक्ताहरूले आदिवासी तथा जनजातीय समुदायहरूको सामाजिक, शैक्षिक र आर्थिक विकासका लागि एकताबद्ध प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) का उपसभापति रोहित लाम्साल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्दै असमका विभिन्न जनजातीय समुदायबीचको आपसी सद्भाव, सहकार्य र सांस्कृतिक आदानप्रदानले समाजलाई थप सुदृढ बनाउने बताउनुभयो। उहाँले विभिन्न समुदायका साझा अधिकार, पहिचान र विकासका मुद्दामा एकताबद्ध आवाज आवश्यक रहेको धारणा पनि राख्नुभयो।
उक्त अवसरमा सष्ठ अनुसूची माग समितिका पदाधिकारीहरूले संस्थाको २३ वर्षे यात्राको समीक्षा गर्दै संगठनले जनजातीय समुदायहरूको संवैधानिक अधिकार र विकासका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे। साथै आगामी दिनमा पनि समुदायको हित र अधिकार सुनिश्चित गर्न आन्दोलनलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा विभिन्न सामाजिक संगठन, विद्यार्थी संगठन, महिला समूह, स्थानीय बुद्धिजीवी, शिक्षक, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। दिनभरि सञ्चालन भएको कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान समारोह तथा विचार आदानप्रदानका कार्यक्रमसमेत सम्पन्न भएका थिए।
राभा समुदायको सांस्कृतिक पहिचान संरक्षण तथा जनजातीय एकताको सन्देश प्रवाह गर्न सफल उक्त कार्यक्रमले सहभागीहरूमा उत्साह थप्नुका साथै सामाजिक सद्भाव र सहकार्यलाई अझ मजबुत बनाएको आयोजक पक्षले जनाएको छ।