
गुवाहाटी, ७ जुनः अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिको महत्वपूर्ण कार्यकारिणी सभा आइतबार गुवाहाटीस्थित मणिकुमार सुब्बा भवन, पल्टन बजारमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। केन्द्रीय समितिका भा:सभापति सन्जिव चौहानको अध्यक्षतामा सम्पन्न उक्त सभामा संगठनका विभिन्न सांगठनिक, शैक्षिक, सामाजिक तथा समसामयिक विषयहरूमा विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरिएको छ।
सभामा संगठनको वर्तमान गतिविधि, विभिन्न जिल्ला तथा आञ्चलिक समितिहरूको कार्यसम्पादन, विद्यार्थी समुदायका समस्या तथा आगामी दिनमा संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने विषयमा गहन समीक्षा गरिएको थियो। सहभागी नेतृत्ववर्गले संगठनको वैचारिक एकता, अनुशासन तथा संवैधानिक प्रक्रियालाई थप मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका थिए।
छलफलका क्रममा विभिन्न सांगठनिक सिद्धान्त तथा नीतिहरूलाई समयसापेक्ष रूपमा कार्यान्वयन गर्ने, संगठनलाई तल्लो तहसम्म अझ प्रभावकारी रूपमा विस्तार गर्ने तथा विद्यार्थी हितसँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत सहमति व्यक्त गरिएको थियो। साथै विभिन्न जिल्लाहरूमा संगठनात्मक गतिविधि सुदृढीकरण गर्ने तथा आगामी कार्यक्रमहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने सम्बन्धमा आवश्यक रणनीति तय गरिएको छ।
सभाको प्रमुख निर्णयमध्ये अखिल असम गोर्खा छात्र संघको १८औँ द्विवार्षिक अधिवेशन आगामी १२ जुलाई २०२६ मा धेमाजी जिल्लामा आयोजना गर्ने निर्णय विशेष रूपमा उल्लेखनीय रहेको छ। अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी प्रक्रिया तत्काल प्रारम्भ गर्ने तथा सम्बन्धित समिति तथा नेतृत्वलाई आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय पनि सभाले गरेको छ।
आगामी अधिवेशनमार्फत संगठनको भावी दिशा, नेतृत्व चयन, विद्यार्थी समुदायसँग सम्बन्धित विभिन्न प्रस्तावहरू तथा सामाजिक सरोकारका विषयहरूमा व्यापक छलफल हुने विश्वास व्यक्त गरिएको छ। सभामा उपस्थित नेतृत्ववर्गले धेमाजीमा आयोजना हुने अधिवेशनलाई ऐतिहासिक तथा उपलब्धिमूलक बनाउन सबै तहका कार्यकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।
कार्यक्रमको अन्त्यतिर मूल–सचिव नुमल छैत्रीले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै संगठनको उद्देश्य प्राप्तिका लागि सबै नेतृत्व तथा कार्यकर्ताहरूले एकताबद्ध भएर कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। सभाको समापन संगठनप्रति प्रतिबद्धता व्यक्त गर्दै तथा आगामी अधिवेशनलाई सफल बनाउन सामूहिक संकल्पका साथ गरिएको थियो।