
धेमाजी १२ जुलाई २०२६: विद्यार्थी हितलाई सर्वोच्च प्राथमिकतामा राख्दै तथा विद्यार्थी समुदायबाट उठाइएका माग र सुझावप्रति पूर्ण सम्मान व्यक्त गर्दै अखिल असम गोर्खा छात्र संघ (आग्सु), केन्द्रीय समितिले १८औँ द्विवार्षिक प्रतिनिधि सभाको नयाँ मिति घोषणा गरेको छ। गत ७ जुन को दिन केन्द्रीय समितिकाे कार्यकारिणी सभाको सिद्दान्त बमोजिम आगामी १२ जुलाई काे दिन अखिल असम गोर्खा छात्र संघ, केन्द्रीय समितिकाे १८ औं द्विवार्षिक प्रतिनिधि सभा सम्पन्न गर्ने निर्णय गरेको थियो। विद्यार्थीहरूको शैक्षिक गतिविधि तथा विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूलाई मध्यनजर गर्दै संगठनले परिस्थितिको गम्भीर मूल्याङ्कन गरी प्रतिनिधि सभाको मिति पुनर्निर्धारण गर्ने महत्वपूर्ण निर्णय गरेको हो। यस विषयलाई मध्यनजर राख्दै अखिल असम गोर्खा छात्र संघको १८औँ द्विवार्षिक प्रतिनिधि सभा आगामी १५ जुलाई २०२६, बुधबारका दिन धेमाजी जिल्ला समितिको आतिथ्यमा धेमाजी जिल्लाको शिलापथारस्थित डोनी पोलो सांस्कृतिक प्रेक्षागृहमा बृहत् एवं भव्य कार्यक्रमका साथ सम्पन्न गरिने भएको छ। यसै क्रममा १२ जुन को दिन धेमाजी जिल्ला काे शीलापथारमा सम्पन्न भएको सभाले आगामी १८ औं द्वि-वार्षिक प्रतिनिधि सभालाई सफल तुल्याउन सभापति श्री शिव कुमार राई, कार्यकारी सभापति श्री पूर्ण राना तथा मूल-सचिव श्री सोमराज पुरीको नेतृत्वमा ३१ सदस्यीय सशक्त स्वागतकारिणी समिति सर्वसम्मत रूपमा गठन गरेको छ।
विद्यार्थी समुदायको भावना र आवश्यकतालाई सदैव प्राथमिकतामा राख्दै आएको संगठनले यसपटक पनि विद्यार्थीहरूको सुविधालाई केन्द्रमा राखेर प्रतिनिधि सभाको मिति परिवर्तन गर्ने निर्णय गरेको हो। यस निर्णयले संगठनको लोकतान्त्रिक चरित्र, उत्तरदायित्वबोध तथा विद्यार्थीप्रतिको प्रतिबद्धतालाई अझ सशक्त रूपमा प्रतिबिम्बित गरेको छ। साथै, संगठनले विद्यार्थी समुदायको आवाजलाई सम्मान गर्दै समयानुकूल र व्यावहारिक निर्णय लिन सक्षम रहेको सन्देशसमेत प्रवाह गरेको छ।
उक्त प्रतिनिधि सभामा संगठनको भावी कार्यदिशा, विभिन्न सांगठनिक विषयवस्तु, विद्यार्थी समुदायसँग सम्बन्धित समसामयिक मुद्दाहरू तथा संगठनको सुदृढीकरणका लागि आवश्यक विविध प्रस्तावहरूमाथि व्यापक छलफल गरी महत्वपूर्ण निर्णयहरू पारित गरिने अपेक्षा गरिएको छ। प्रतिनिधि सभाले संगठनलाई अझ प्रभावकारी, उत्तरदायी तथा समयसापेक्ष रूपमा अघि बढाउन मार्गनिर्देशन गर्ने विश्वास लिइएको छ।
अखिल असम गोर्खा छात्र संघको इतिहासमा विशेष महत्व बोकेको यस प्रतिनिधि सभाको सफल आयोजनाका लागि सम्पूर्ण सदस्य, कार्यकर्ता, शुभेच्छुक तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सक्रिय सहभागिता, सहयोग र सद्भावको अपेक्षा गरिएको छ। संगठनको आदर्श, उद्देश्य र विद्यार्थी हितप्रतिको समर्पणलाई थप सुदृढ बनाउने दिशामा यो प्रतिनिधि सभा कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ।