All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #35
June 18, 2026

दरंग महाविद्यालय र तेजपुर महाविद्यालय आग्सु एकाइद्वारा छैटौं सेमेस्टरका विद्यार्थीहरूलाई भव्य बिदाइ

📅 June 18, 2026
✍️ AAGSU
🕒 12:07 AM

शोणितपुर, ३ जुनः शोणितपुर जिल्लाका दुई प्रतिष्ठित शैक्षिक संस्था दरंग महाविद्यालय र तेजपुर महाविद्यालय का अखिल असम गोर्खा छात्र संघ (आग्सु) एकाइको संयुक्त आयोजनामा छैटौं सेमेस्टरका विद्यार्थीहरूका लागि एक भव्य तथा भावनात्मक बिदाइ समारोह सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थी जीवनको एक महत्वपूर्ण अध्याय पूरा गरी नयाँ यात्रातर्फ अग्रसर हुन लागेका विद्यार्थीहरूलाई सम्मान तथा शुभकामना व्यक्त गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, आग्सु पदाधिकारी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको नेतृत्व तेजपुर महाविद्यालय आग्सु एकाइका सभापति अभिनव गर्ग तथा मूल–सचिव करिना खातिवडाले गर्नुभएको थियो भने दरंग महाविद्यालय आग्सु एकाइका सभापति अनुज रसाइली तथा मूल–सचिव अरुण क्षेत्रीले कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। दुवै महाविद्यालय आग्सु एकाइबीचको उत्कृष्ट समन्वय र सक्रियताले कार्यक्रमलाई भव्य तथा सफल बनाउन विशेष योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

समारोहको विशेष आकर्षणका रूपमा असमकी चर्चित गायिका सुरेखा क्षेत्रीको गरिमामय उपस्थिति रहेको थियो। उहाँले विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिँदै जीवनमा सफलता प्राप्त गर्न निरन्तर परिश्रम, अनुशासन र सकारात्मक सोचको आवश्यकता रहेको बताउनुभयो। उहाँको उपस्थितिले कार्यक्रममा थप उत्साह र उल्लास थपेको थियो।

कार्यक्रममा आग्सु तेजपुर आञ्चलिक समितिका मूल–सचिव राम कार्की तथा उप-सभापति विनोद क्षेत्रीको विशेष मार्गदर्शन रहेको थियो। उहाँहरूले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रापछि समाज, समुदाय तथा राष्ट्रप्रति जिम्मेवार नागरिकका रूपमा योगदान पुर्‍याउन आग्रह गर्नुभयो। साथै उहाँहरूले विद्यार्थी जीवनमा संगठनले प्रदान गर्ने नेतृत्व, चेतना तथा सामाजिक उत्तरदायित्वका मूल्यहरूलाई भविष्यमा समेत आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो।

विदाइ समारोहमा वक्ताहरूले विद्यार्थि जीवन केवल अध्ययनको अवधि मात्र नभई व्यक्तित्व निर्माण, मित्रता, नेतृत्व विकास तथा जीवनका महत्वपूर्ण अनुभवहरू प्राप्त गर्ने अवसर भएको उल्लेख गरेका थिए। छैटौं सेमेस्टरका विद्यार्थीहरूले पनि आफ्नो कलेज जीवनका अनुभव, सम्झना तथा भावनाहरू साझा गर्दै शिक्षक, सहपाठी तथा आग्सु परिवारप्रति कृतज्ञता व्यक्त गरेका थिए।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक गतिविधि तथा सम्मान कार्यक्रमहरू समेत आयोजना गरिएको थियो। गीत, संगीत र सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। साथै, बिदाइ हुन लागेका विद्यार्थीहरूलाई मायाको चिनो तथा उज्ज्वल भविष्यका लागि शुभकामना प्रदान गरिएको थियो।

समारोहमा सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमहरूले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै कलेज जीवनका अविस्मरणीय क्षणहरूलाई सदैव स्मरणीय बनाइराख्ने विश्वास व्यक्त गरेका थिए। आयोजकहरूले पनि आगामी दिनमा विद्यार्थी केन्द्रित र रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

दरंग महाविद्यालय र तेजपुर महाविद्यालय आग्सु एकाइद्वारा संयुक्त रूपमा आयोजित उक्त बिदाइ समारोहले विद्यार्थीहरूबीचको एकता, सहकार्य र संगठनात्मक समन्वयको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। कार्यक्रमले स्नातक अध्ययनको अन्तिम चरणमा रहेका विद्यार्थीहरूलाई भावनात्मक विदाइका साथसाथै भविष्यप्रति नयाँ आशा, उत्साह र आत्मविश्वास प्रदान गरेको सहभागीहरूको भनाइ रहेको छ।

प्रतिवेदक: अभिनव गर्ग- सभापति, तेजपुर महाविद्यालय इकाइ।

📤 Share this story
Scroll to Top