
चिराङ,१४ जुन२०२६: निजुलागुडी गाउँ उन्नयन समितिको उद्योग तथा अखिल असम गोर्खा छात्र संघ (आग्सु), सुनगाभा आञ्चलिक समिति अन्तर्गत निजुलागुडी शाखा समितिको सहयोगमा विशेष अभिनन्दन अनुष्ठान निजुलागुडी भानु क्लब सभागृहमा भव्यतापूर्वक सम्पन्न हुन्छ। समाजमा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्नुका साथै विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
कार्यक्रमको सभापतित्व निजुलागुडी गाउँ उन्नयन समितिका सभापति श्री राज प्रधानज्यूले गर्नु भएको थियो भने सञ्चालन समितिका मूल सचिव श्री मोहन तिम्सिनाले गर्नु भएको थियो। कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै उच्च माध्यमिक तथा उच्चतर माध्यमिक परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका १५ जना विद्यार्थीलाई सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो। यसका साथै बोडोल्यान्ड प्रादेशिक परिषद् (BTC) का नव नियुक्त गोर्खा पार्षद श्री नन्दलाल मगरज्यूलाई समेत विशेष रूपमा अभिनन्दन गर्दै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
उक्त समारोहमा अखिल असम गोर्खा छात्र संघ, सुनगाभा आञ्चलिक समितिका सभापति श्री नवीन थापाज्यू, बिटिआर गोर्खा समाजका अध्यक्ष श्री उत्तम प्रधानज्यू, असम गोर्खा सम्मेलन, चिराङ जिल्ला समितिका सभापति श्री सूर्य बस्नेतज्यू, उप-सभापति श्री देवी नेवारज्यू, सचिव श्री राजु कटुवालज्यू, असम नेपाली साहित्य सभा, चिराङ जिल्ला समितिका उपसभापति श्री भानुभक्त छेत्री ज्यू, शान्तिपुर भिसीडीसीका पूर्व उपाध्यक्ष श्री भानु रिजालज्यू, अवकाशप्राप्त शिक्षक श्री महेन्द्र प्रधानज्यू लगायत विभिन्न सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
त्यसैगरी स्थानीय अभिभावक, छात्रकर्मी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण र सफल बनाएको थियो। कार्यक्रमका वक्ताहरूले समाजको समग्र विकासका लागि शिक्षाको महत्वमाथि प्रकाश पार्दै उत्कृष्ट विद्यार्थीहरूलाई निरन्तर परिश्रम र अनुशासनका साथ अगाडि बढ्न प्रेरित गरेका थिए। साथै, समाजको हित र भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याइएको थियो।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो र यसले शिक्षा, सामाजिक एकता तथा सामूहिक उत्तरदायित्वको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिवेदक: श्री नबिन थापा, सभापति, अखिल असम गोर्खा छात्र संघ, सुनगाभा आञ्चलिक समिति।