All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #36
June 25, 2026

जागीरोडमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) द्वारा “विशेष अभिनन्दन अनुष्ठान” भव्यताका साथ सम्पन्न

📅 June 25, 2026
✍️ AAGSU
🕒 12:05 AM

मरिगाउँ, २१ जुन २०२६: अखिल असम गोर्खा छात्र संघ (AAGSU), मरिगाउँ जिल्ला समितिको पहल तथा सम्पूर्ण क्षेत्रीय समितिहरूको सक्रिय सहयोगमा आयोजित एक “विशेष अभिनन्दन अनुष्ठान” २१ जुन २०२६ का दिन जागीरोड सरकारी डाक-बंगलाको प्रेक्षागृह (I.B. Hall) मा अत्यन्तै उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको छ। उक्त भव्य कार्यक्रम मरिगाउँ जिल्ला समितिका सभापति पदुम थापा र मूल सचिव दिपान्कर सेढाईको कुशल नेतृत्वमा सफलताका साथ सम्पन्न भएको हो।

यस विशेष समारोहमा मरिगाउँ जिल्ला अन्तर्गतका विभिन्न क्षेत्रबाट यस वर्षको HSLC र HS परीक्षामा प्रथम श्रेणी (First Division) हासिल गर्न सफल गोर्खा विद्यार्थीहरूलाई उनीहरूको उत्कृष्ट शैक्षिक प्रदर्शनका लागि सम्मान गरियो।

शैक्षिक क्षेत्रका साथै समाजका विभिन्न विधामा उच्च योगदान पुर्‍याउने गोर्खा समुदायका प्रतिभाहरूलाई पनि कार्यक्रममा विशेष संवर्धना गरिएको थियो। यस अन्तर्गत पीएचडी (PhD) उपाधि धारकहरू, एमबीबीएस (MBBS) डाक्टरहरू, नव-निर्वाचित इन्जिनियरहरू, र विश्वविद्यालय तहमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्ड मेडल (Gold Medalist) प्राप्त गर्न सफल डिग्री तहका छात्र-छात्राहरूलाई संघका तर्फबाट मान-पत्र र स्मृति चिन्ह प्रदान गरी सम्मानित गरियो। यसका साथै जिल्लाका प्रतिष्ठित गोर्खा अनुसन्धानकर्ता, आविष्कारक तथा समाजका विभिन्न विधाका समल व्यक्ति (Resource Persons) हरूलाई पनि उनीहरूको योगदानको कदर गर्दै विशेष अभिनन्दन गरिएको थियो।

उक्त गरिमामय कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समितिका सभापति सञ्जीव चौहान, मूल सचिव नुमल क्षेत्री, शिक्षा सचिव टिन्कु पौडेल, साहित्यिक सचिव दीपक दाहाल, प्रचार सचिव सुरेश पाण्डे, मुखपत्र सचिव कमल ढकाल र प्राक्तन प्रचार सचिव प्रदीप कार्कीको प्रमुख उपस्थिति रहेको थियो। केन्द्रीय नेतृत्वले आफ्नो सम्बोधनमा सम्मानित प्रतिभाहरूलाई बधाई दिँदै गोर्खा समुदायको चौतर्फी विकासका लागि शिक्षाको महत्त्वमाथि विशेष जोड दिनुभयो।

यस समारोहमा गोर्खा स्वायत्तशासी परिषद् माग समिति (GACDC) केन्द्रीय समितिका मूल सचिव पदुम बराइली, र सदौ असम छात्र संघ (AASU) मरिगाउँ जिल्ला समितिका मूल सचिव शिव दास एवं सल्लाहकार लोकेन्द्र क्षेत्री पनि विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यसका साथै असम गोर्खा सम्मेलन र नेपाली साहित्य सभाका विभिन्न तहका पदाधिकारीहरू तथा असमका अन्य विभिन्न जिल्लाहरूबाट आएका आग्सु (AAGSU) का प्रतिनिधिहरूको पनि उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित विशिष्ट अतिथि तथा वक्ताहरूले मरिगाउँ जिल्ला समितिको यस सराहनीय कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा पनि विद्यार्थीहरूको प्रोत्साहनका लागि यस्ता कार्यक्रमहरू निरन्तर गरिनु पर्ने धारणा राखे।

मरिगाउँ जिल्ला समितिका सभापति पदुम थापा र मूल सचिव दिपान्कर सेढाईले कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण सहयोगी हातहरू, अभिभावकवर्ग, क्षेत्रीय समितिका सदस्यहरू र उपस्थित सबैमा हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुभएको छ।

प्रतिवेदक: आदित्य शर्मा- सुचना एवं प्रविधि सचिव, मरिगाउँ जिल्ला समिति।

📤 Share this story
Scroll to Top