
देउस्री, चिराङ, २४ जुन २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) सुनगाभा आञ्चलिक समितिको एउटा प्रतिनिधि टोलीले चिराङ जिल्लाको देउस्री, राइपुरस्थित सिख्ना जाहवलाओ राष्ट्रिय उद्यान (UPO-von) को विभिन्न विषयहरूलाई लिएर भ्रमण सम्पन्न गरेको छ।
उक्त भ्रमणको मुख्य उद्देश्य प्राकृतिक सम्पदा, जैविक विविधता, वन्यजन्तु संरक्षण तथा पर्यावरणीय सन्तुलन सम्बन्धी प्रत्यक्ष जानकारी हासिल गर्नु रहेको थियो। भ्रमणका क्रममा टोलीले राष्ट्रिय उद्यानभित्र रहेका विभिन्न प्राकृतिक स्रोत, वनस्पति तथा वन्यजन्तुहरूको अवलोकन गर्दै संरक्षणको महत्वबारे जानकारी प्राप्त गरेको थियो।
उक्त टोलीमा आञ्चलीक समितिका सभापति श्री नवीन थापा, बिटिसि क्षेत्रिय समितिका सह सचिव श्री नारायण भट्टराई, चिराङ जिल्ला समितिका सह सचिव श्री भीष्म शर्मा, आञ्चलिक समितिका उप सभापतिद्वय श्री दामोदर पोखरेल, श्री दीपक शर्मा, र देउसी शाखा समितिका सभापति श्री मिलन गिरी उपस्थित थिए।
टोलीका सदस्यहरूले पर्यावरण संरक्षण, वन क्षेत्रको महत्व तथा जैविक विविधताको संरक्षणमा युवाहरूको भूमिकाबारे समेत आपसमा विचार आदानप्रदान गरेका थिए। भ्रमणले सहभागीहरूमा प्रकृतिप्रतिको जिम्मेवारीबोध बढाउनुका साथै वातावरण संरक्षणप्रति थप सचेत बन्न प्रेरित गरेको विश्वास व्यक्त गरिएको छ।
आग्सु सुनगाभा आञ्चलिक समितिले यस्ता रचनात्मक कार्यक्रमहरूले विद्यार्थी तथा युवाहरूमा ज्ञान, अनुभव र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएको छ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै युवा पुस्तालाई प्रकृति, समाज र संस्कृतिसँग नजिक ल्याउने प्रयास जारी रहने समितिले जनाएको छ।
भ्रमण कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो। सहभागी सम्पूर्ण सदस्यहरूले यस प्रकारको कार्यक्रमलाई ज्ञानवर्द्धक, प्रेरणादायी तथा स्मरणीय अनुभवका रूपमा लिएका छन्।
प्रनिवेदक: श्री नवीन थापा, सभापति, आग्सु सुनगाभा आञ्चलिक समिति।