
चिराङ, २४ जुन २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को अठारौँ द्विवार्षिक केन्द्रीय प्रतिनिधि सभालाई सफल र ऐतिहासिक बनाउने उद्देश्यले संगठनको प्रचार तथा निमन्त्रण अभियानलाई तीव्रता दिइएको छ। यसै सिलसिलामा आग्सु केन्द्रीय समितिका कार्यवाहक सभापति श्री संजीव चौहान तथा मूलसचिव श्री नुमाल छेत्रीको नेतृत्वमा केन्द्रीय तथा विभिन्न तहका संगठनका पदाधिकारी एवं कार्यकर्ताहरूको टोली चिराङ जिल्लामा उपस्थित भई व्यापक प्रचार तथा संगठनात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
उक्त अवसरमा टोलीले चिराङ जिल्लाका विभिन्न क्षेत्रका संगठनका नेतृत्व, कार्यकर्ता, शुभेच्छुक तथा समाजका अगुवाहरूसँग भेटघाट गरी आग्सुको अठारौँ द्विवार्षिक केन्द्रीय प्रतिनिधि सभाको महत्व, उद्देश्य र संगठनात्मक आवश्यकताबारे जानकारी गराएको थियो। साथै प्रतिनिधि सभालाई सफल बनाउन सबै तहका कार्यकर्ता तथा सदस्यहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा राख्दै औपचारिक निमन्त्रणासमेत प्रदान गरिएको थियो।
भेटघाट तथा छलफलका क्रममा संगठनको वर्तमान गतिविधि, विद्यार्थी समुदायसँग सम्बन्धित विविध विषय, सामाजिक उत्तरदायित्व तथा भावी कार्ययोजनाबारे समेत विचार आदानप्रदान गरिएको थियो। उपस्थित नेतृत्व तथा कार्यकर्ताहरूले प्रतिनिधि सभाको सफलताका लागि पूर्ण सहयोग र सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यवाहक सभापति श्री संजीव चौहानले संगठनको एकता, अनुशासन र सक्रियताले नै आग्सुलाई अझ सशक्त बनाउने उल्लेख गर्दै सबै कार्यकर्तालाई संगठनप्रति समर्पित भएर काम गर्न आग्रह गर्नुभयो। त्यसैगरी मूलसचिव श्री नुमाल छेत्रीले अठारौँ द्विवार्षिक केन्द्रीय प्रतिनिधि सभा संगठनको आगामी दिशानिर्देश तय गर्ने महत्वपूर्ण मञ्च भएकाले सबै प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थितिको आवश्यकता रहेको बताउनुभयो।
चिराङ जिल्लामा सम्पन्न यस प्रचार तथा निमन्त्रण अभियानले संगठनका विभिन्न तहबीच समन्वय, सहकार्य र आपसी सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ। आग्सु परिवारले आगामी केन्द्रीय प्रतिनिधि सभालाई भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न गर्न सम्पूर्ण सदस्य, शुभेच्छुक र गोरखा समुदायको सहयोग तथा सहभागिताको अपेक्षा गरेको छ।
प्रतिवेदक: श्री नवीन थापा, सभापति आग्सु सुनगाभा आञ्चलिक समिति।