
खौराङ ९ जुलाई: अखिल असम गोर्खा छात्र संस्था (आग्सु), खौराङ आञ्चलिक समितिद्वारा कक्षा १० र १२ का विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको ६ दिने ‘ग्रीष्मकालीन शैक्षिक सप्ताह’ आज ८ जुलाई २०२६ का दिन एक सफलतापूर्वक सम्पन्न भएको छ। आगामी वर्ष २०२७ मा हुने बोर्ड परीक्षाहरूलाई दृष्टिगत गर्दै विद्यार्थीहरूमा आत्मविश्वास जगाउने, विषयगत जटिलताहरूलाई सरल बनाउने र परीक्षाको रणनीति तयार गर्ने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।
यस शैक्षिक सप्ताहमा विद्यार्थीहरूलाई गणित, विज्ञान, अंग्रेजी र अन्य महत्त्वपूर्ण विषयहरूमा विशेष मार्गदर्शन प्रदान गरियो। कार्यक्रमको गरिमा बढाउँदै दुई जना अनुभवी शिक्षाकहरूले विद्यार्थीहरूलाई आफ्नो बहुमूल्य समय र ज्ञान प्रदान गर्नुभएको थियो:
लक्ष्मण उपाध्याय, बर्सोला उच्चतर माध्यमिक विद्यालयका प्राध्यापक, जसले विद्यार्थीहरूलाई परीक्षामा कसरी समय व्यवस्थापन गर्ने र कठिन पाठहरूलाई कसरी बुझ्ने भन्ने विषयमा व्यावहारिक सुझाव दिनुभयो भने मोहन कुमार छेत्री, उदालगुड़ी उच्चतर माध्यमिक विद्यालयका प्राध्यापक, जसले विषयगत आधारभूत धारणाहरू (Concepts) लाई स्पष्ट पार्दै विद्यार्थीहरूको जिज्ञासाहरू समाधान गर्नुभयो।
गत ३ जुलाई २०२६ का दिन उदालगुड़ी जिल्ला समिति प्रचार सचिव तिलक गौतम, आञ्चलिक समितिका कर्मकर्ता, उपदेष्टा लगायत यस क्षेत्रका वुद्धिजीवीहरुको उपस्थितमा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।
प्रत्येक दिन बिहान १० बजे बाट दिउँसो १ बजे सम्म कक्षाहरू सञ्चालन गरिए थियो। यसमा पाठ्यपुस्तकका अध्यायहरू मात्र नभई गत वर्षका प्रश्नपत्रहरूको अभ्यास र उत्तर लेख्ने सही तरिकाहरूबारे पनि गहन छलफल भयो।
हिजो अर्थात् ८ जुलाई २०२६ मा आयोजित समापन कार्यक्रममा आग्सु खौराङ आञ्चलिक समितिका पदाधिकारीहरू, शिक्षकवर्ग, अभिभावकहरू र विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो।
आञ्चलिक समितिका शिक्षा सचिवदय ललित छेत्री र सन्तोष शर्मा द्वारा सञ्चालित यस ग्रीष्मकालीन शैक्षिक सप्ताहले विद्यार्थीहरूमा नयाँ ऊर्जा र उत्साहको सञ्चार गरेको छ। प्राध्यापक लक्ष्मण उपाध्याय र मोहन कुमार छेत्रीको ओजस्वी मार्गदर्शनले विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न ठूलो मद्दत पुगेको कुरा विद्यार्थीहरूको प्रतिक्रियाबाट स्पष्ट हुन्छ।
खौराङ आञ्चलिक समितिले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि यस्ता रचनात्मक कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ आञ्चलिक समितिका सभापति बिर बाहादुर छेत्री र मुल सचिव अभिषेक महन्तले ।
प्रतिवेदक: नारायण छेत्री – सचिव, खौराङ आञ्चलिक समिति