
सतिया, ५ जुलाई २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) सतिया आञ्चलिक समितिको आयोजनामा ५ जुलाई २०२६ का दिन एक भव्य विशेष अभिनन्दन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। शिक्षा, समाजसेवा तथा संगठनप्रति योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रतिभाशाली विद्यार्थी, असम सरकारअन्तर्गत शिक्षक पदमा नियुक्त भएका युवा, संगठनका अग्रज तथा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रम सतिया आञ्चलिक समितिका सभापति श्री धीरज भण्डारीको सभापतित्व तथा मूल–सचिव श्री रोशन छेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न तहका अतिथि, सामाजिक अगुवा, पूर्व छात्रकर्मी, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको पहिलो चरणमा सन् २०२६ को हाईस्कूल शिक्षान्त तथा उच्चतर माध्यमिक अन्तिम परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका कृती छात्र–छात्राहरूलाई सम्मानपत्र तथा स्मृति–चिन्ह प्रदान गरी विशेष अभिनन्दन गरिएको थियो। वक्ताहरूले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, अनुशासन र समाजप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गरेका थिए।
यसै अवसरमा असम सरकारअन्तर्गत सन् २०२६ मा शिक्षक पदमा नियुक्ति प्राप्त गरेका चार जना शिक्षकलाई विशेष सम्मान प्रदान गरिएको थियो। नवनियुक्त शिक्षकहरूलाई बधाई ज्ञापन गर्दै शिक्षा क्षेत्रमार्फत समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।
कार्यक्रमको अर्को महत्वपूर्ण आकर्षणका रूपमा गोसाई छापरी मध्य अंग्रेजी विद्यालयका संस्थापक सभापति स्वर्गीय रुद्रबहादुर थापाको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उहाँकी धर्मपत्नी श्रीमती टंक माया देवीलाई सम्मानपत्र प्रदान गरिएको थियो। आयोजकले स्वर्गीय थापाको योगदानलाई सतिया क्षेत्रको शैक्षिक विकासको महत्वपूर्ण अध्यायका रूपमा स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो।
त्यसैगरी, अखिल असम गोर्खा छात्र संघ (आग्सु) विश्वनाथ जिल्ला समितिका सभापति श्री सुनिल सुतार, मूल–सचिव श्री नवदिप छेत्री तथा शिक्षा सचिव श्री नुमल भट्टराईलाई संगठन तथा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा संगठनका पूर्व छात्रकर्मीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरूलाई विदाई सम्मानसमेत प्रदान गरिएको थियो। यस क्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिका उप–सभापति श्री दिलीप गजुरेल, विश्वनाथ जिल्ला समितिका मूल–सचिव श्री प्रकाश खनाल, सोटिया आञ्चलिक समितिका सभापति श्री गणेश घिमिरेसहित पाँच जना पूर्व आग्सु कर्मीहरूलाई सम्मानपत्र प्रदान गरी संगठनप्रतिको समर्पण र योगदानको प्रशंसा गरिएको थियो।
समारोहमा वक्ताहरूले आग्सुले शिक्षा, सामाजिक उत्तरदायित्व तथा संगठनात्मक मूल्यलाई सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। विद्यार्थी, शिक्षक, समाजसेवी तथा संगठनका अग्रज व्यक्तित्वहरूको सम्मानले नयाँ पुस्तामा प्रेरणा, जिम्मेवारी र सेवाभावको भावना विकास हुने धारणा व्यक्त गरिएको थियो।
कार्यक्रमको सफल आयोजनाप्रति सहभागीहरूले चतिया आञ्चलिक समितिलाई बधाई ज्ञापन गरेका थिए। अन्त्यमा सभापति श्री धीरज भण्डारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सम्मानित व्यक्तित्व, अभिभावक, स्वयंसेवक तथा सहभागीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा र समाजहितका यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिवेदक: धिराज भन्डारी-सभापति, सतिया आञ्चलिक समिति ।