All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #40
July 23, 2026

अखिल असम गोर्खा छात्र संघका नवनिर्वाचित कार्यकारिणी सदस्य शिबु सोनारलाई अभिनन्दन

📅 July 23, 2026
✍️ AAGSU
🕒 12:06 AM

तामुलपुर, जुलाई १९ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) को धेमाजी जिल्लास्थित सिलापथारमा गत १५ जुलाई सम्पन्न १८औँ द्विवार्षिक प्रतिनिधि सभाबाट गठित १९औँ द्विवार्षिक केन्द्रीय कार्यसमितिको कार्यकारिणी सदस्य पदमा तामुलपुर जिल्लाको पूर्व डेफेलीका सक्रिय छात्र कार्यकर्ता शिबु सोनार निर्विरोध निर्वाचित भएका छन्। उनको निर्विरोध निर्वाचनले पूर्व डेफेली क्षेत्रसहित सम्पूर्ण तामुलपुर जिल्ला र गोर्खा समुदायमा हर्ष तथा उत्साहको वातावरण सिर्जना गरेको छ।

यसै अवसरमा आइतबार पूर्व डेफेली आञ्चलिक समितिको मुख्यालयमा आयोजित अभिनन्दन कार्यक्रममा अखिल असम गोर्खा छात्र संघको पूर्व डेफेली आञ्चलिक समिति, तामुलपुर जिल्ला समिति, असम गोर्खा सम्मेलन, असम नेपाली साहित्य सभा तथा क्षेत्रका विभिन्न सामाजिक, जातीय र शैक्षिक संस्थाका प्रतिनिधि, आग्सु शुभेच्छुक, समाजसेवी तथा स्थानीय बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले शिबु सोनारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

वक्ताहरूले शिबु सोनारले विद्यार्थी, युवा तथा समग्र गोर्खा समुदायको शिक्षा, भाषा, संस्कृति, पहिचान र अधिकारका सवालमा संगठनमार्फत सशक्त नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। साथै संगठनलाई अझ प्रभावकारी, जनमुखी र गतिशील बनाउन उनले उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा समेत व्यक्त गरिएको थियो।

उल्लेखनीय छ कि यसै १८औँ द्विवार्षिक प्रतिनिधि सभाबाट तामुलपुर जिल्लाबाट राजु बजगाईं उप-सभापति पदमा तथा जन कुमार चौहान कार्यकारिणी सदस्य पदमा समेत निर्वाचित भएका छन्। यी प्रतिनिधिहरूको निर्वाचनलाई तामुलपुर जिल्लाका लागि गौरवको विषय मान्दै स्थानीय संगठन तथा शुभेच्छुकहरूले आगामी दिनमा संगठनात्मक गतिविधिलाई थप सुदृढ बनाउन उनीहरूको सक्रिय योगदान रहने विश्वास व्यक्त गरेका छन्।

प्रतिवेदक : बिप्लब चिमरिया, मूल–सचिव, तामुलपुर जिल्ला समिति।

📤 Share this story
Scroll to Top