All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #40
July 23, 2026

असमको परिवेशमा निर्माण गरिएको गोर्खा चलचित्र ‘आशिष’ को प्रिमियरमा आग्सुका मुल सचिव सोमराज सोनारको सहभागिता — चलचित्रमार्फत भाषा, संस्कृति र पहिचानको संरक्षणमा सबैले साथ दिनुपर्ने आग्रह।

📅 July 23, 2026
✍️ AAGSU
🕒 12:03 AM

गुवाहाटी, २० जुलाई: असमको सामाजिक परिवेश, गोर्खा समुदायको जीवनशैली तथा सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर निर्माण गरिएको बहुप्रतीक्षित गोर्खा चलचित्र ‘आशिष’ को भव्य प्रिमियर कार्यक्रम आज गुवाहाटीको पाञ्जाबारीस्थित आइदेउ चलचित्र गृहमा उत्साहपूर्ण वातावरणका बीच सम्पन्न भएको छ। कार्यक्रममा चलचित्र क्षेत्रसँग आबद्ध व्यक्तित्वहरू, विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, सञ्चारकर्मी तथा चलचित्रप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) का नव निर्वाचित मुल सचिव श्री सोमराज सोनार विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै उहाँले असमको माटो, यहाँको प्राकृतिक सौन्दर्य, सामाजिक परिवेश तथा गोर्खाली समुदायको जीवनशैलीलाई चलचित्रमार्फत जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “यस चलचित्रले असमको हावा-पानी, यहाँको सामाजिक परिवेश र गोर्खाली जनजीवनलाई सुन्दर, यथार्थपरक तथा जीवन्त ढंगले पर्दामा उतार्ने प्रशंसनीय प्रयास गरेको छ। चलचित्रका निर्देशक, कलाकार, प्राविधिक तथा सम्पूर्ण निर्माण टोलीलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछु। उहाँहरूको अथक मेहनत, समर्पण र सिर्जनशीलताले दर्शकहरूको मन जित्नेमा पूर्ण विश्वास छ।”

मुल सचिव सोनारले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजको इतिहास, संस्कृति, भाषा, पहिचान र जीवनशैलीलाई पुस्तादेखि पुस्तासम्म जोगाइराख्ने सशक्त माध्यम भएको उल्लेख गर्नुभयो। असममा बसोबास गर्ने गोर्खा समुदायको मौलिक कथा, संघर्ष, भावना र सांस्कृतिक सम्पदालाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने यस्ता सिर्जनात्मक प्रयासहरूको सबै पक्षबाट संरक्षण र प्रवर्द्धन हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।

उहाँले आगामी दिनमा असमेली गोर्खा समुदायका भाषा, साहित्य, कला र संस्कृतिलाई उजागर गर्ने यस्ता गुणस्तरीय चलचित्रहरूको निर्माण अझ बढ्दै जाने विश्वास व्यक्त गर्दै सम्पूर्ण चलचित्रकर्मीहरूलाई निरन्तर सिर्जनशील यात्राका लागि शुभकामना दिनुभयो।

यसैबीच, चलचित्र ‘आशिष’ आगामी जुलाई २४ तारिखदेखि असमका विभिन्न चलचित्र गृहहरूमा औपचारिक रूपमा प्रदर्शनमा आउने जानकारी गराइएको छ।

यस अवसरमा आग्सुका मुल सचिव श्री सोमराज सोनारले सम्पूर्ण चलचित्रप्रेमी दर्शकहरूलाई चलचित्र गृहमै पुगेर चलचित्र अवलोकन गर्न हार्दिक अनुरोध गर्नुभयो। आफ्नै भाषा, संस्कृति, पहिचान र माटोसँग जोडिएको यस्ता सिर्जनात्मक अभियानलाई दर्शकहरूको साथ, माया र प्रोत्साहनले अझ सशक्त बनाउने विश्वास व्यक्त गर्दै उहाँले सबैलाई चलचित्र सफल बनाउन सहयोग गर्न आग्रह गर्नुभयो।

प्रतिवेदक: श्री सञ्जय छेत्री, मुल सचिव, आग्सु, टंला आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top