
कार्बी आङलोङ, २१ जुलाई: कार्बी समुदायको ऐतिहासिक विद्यार्थी संस्था कार्बी स्टुडेन्ट्स एसोसिएसन (KSA) को ६७औँ स्थापना दिवस “कार्बी स्टुडेन्ट्स डे” का रूपमा कार्बी आङलोङ जिल्लाको जुताङ आकलाम, भोलोङकोम आजी (बाकालिया) मा भव्यताका साथ सम्पन्न भएको छ। KSA का सभापति सेम्सन टेरोङ को सभापतित्वमा आयोजित खुला अधिवेशनमा विभिन्न जनजातीय विद्यार्थी तथा सामाजिक सङ्गठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा ,निखिल बोडो छात्र संघ, तिवा छात्र सङ्घ तथा दिमासा छात्र सङ्घ का सभापतिहरू विशिष्ट अतिथिका रूपमा सहभागी भई शुभकामना व्यक्त गर्नुभएको थियो। विभिन्न समुदायका विद्यार्थी सङ्गठनहरूको उपस्थितिले कार्यक्रमलाई आपसी एकता, सद्भाव र सहकार्यको साझा मञ्चका रूपमा स्थापित गरेको थियो।
यस अवसरमा KSA केन्द्रीय समितिको निमन्त्रणालाई स्वीकार गर्दै अखिल असम गोर्खा छात्र सङ्घ (आग्सु) का केन्द्रीय समितिका सह–मुखपत्र सम्पादक महेश शर्मा तथा कार्बी आङलोङ जिल्ला समितिका मूल सचिव सञ्जीव छेत्री आमन्त्रित अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सह–मुखपत्र सम्पादक महेश शर्माले कार्बी र गोर्खा समुदायबीचको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धबारे चर्चा गर्दै भन्नुभयो, “कार्बी र गोर्खा समुदायबीच प्राचीनकालदेखि नै आत्मीय सम्बन्ध रहँदै आएको छ। आगामी दिनहरूमा पनि यस भातृत्वलाई अझ सुदृढ बनाउँदै क्षेत्रीय तथा सामाजिक हरेक मुद्दामा दुवै समुदाय एकताबद्ध भएर अघि बढ्नेछन्।” उहाँले जनजातीय विद्यार्थी सङ्गठनहरूबीच आपसी सहकार्य, समन्वय र सद्भावलाई अझ मजबुत बनाउँदै साझा हितका विषयमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमभरि विभिन्न वक्ताहरूले विद्यार्थी एकता, सामाजिक उत्तरदायित्व तथा समुदायबीचको पारस्परिक विश्वासलाई सुदृढ बनाउने विषयमा आफ्नो धारणा राख्नुभएको थियो। विविध विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूको सहभागिताले KSA को ६७औँ स्थापना दिवसलाई केवल वार्षिकोत्सवमा सीमित नराखी, क्षेत्रका विभिन्न समुदायबीचको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा स्थापित गरेको देखियो।
कार्यक्रमको अन्त्यमा KSA का मूल सचिव बिश्वज्योति टेरोङ ले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। सम्पूर्ण कार्यक्रम सौहार्दपूर्ण, अनुशासित तथा उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रतिवेदक : महेश शर्मा, सह–मुखपत्र सम्पादक, केन्द्रीय समिति ।