All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #41
July 30, 2026

हिमाली आञ्चलिक समिति (बाक्सा) द्वारा ग्रीष्मकालीन बिदाको अवसरमा आयोजित चार दिवसीय शैक्षिक कार्यक्रम भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न

📅 July 30, 2026
✍️ AAGSU
🕒 12:01 AM

भुटानखुटी, बाक्सा | २८ जुलाई २०२६ :

    अखिल असम गोर्खा छात्र संघ (AAGSU), हिमाली आञ्चलिक समितिको आयोजनामा ग्रीष्मकालीन बिदाको अवसर पारेर विद्यार्थीहरूको बिदाको समयलाई सिर्जनात्मक, ज्ञानमूलक तथा उपलब्धिमूलक बनाउने उद्देश्यले "Learn Today, Lead Tomorrow" भन्ने मूल नाराका साथ मिति २५ देखि २८ जुलाई २०२६ सम्म श्रीपञ्चमी हिमाली हाइ स्कूल भुटानखुटीमा सञ्चालित चार दिवसीय शैक्षिक कार्यक्रम भव्य, अनुशासित तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूको शैक्षिक, बौद्धिक, नैतिक, सामाजिक तथा व्यक्तित्व विकासलाई केन्द्रमा राखी आयोजना गरिएको यस कार्यक्रममा क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

ग्रीष्मकालीन बिदाको समयलाई केवल विश्राम वा मनोरञ्जनमा सीमित नराखी विद्यार्थीहरूको अध्ययनप्रतिको रुचि अभिवृद्धि गर्ने, अन्तर्निहित प्रतिभाको पहिचान गर्ने, आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन, नैतिक मूल्य तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको थियो। आजको प्रतिस्पर्धात्मक युगमा विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिक सीप, तार्किक सोच, सार्वजनिक अभिव्यक्ति तथा सामाजिक उत्तरदायित्वको भावना पनि आवश्यक पर्ने भएकाले हिमाली आञ्चलिक समितिले यस्तो शैक्षिक अभियान सञ्चालन गरेको हो। चार दिनसम्म सञ्चालन भएका विविध कार्यक्रमहरूले सहभागी विद्यार्थीहरूलाई नयाँ सिकाइ, अनुभव आदान–प्रदान तथा व्यक्तित्व विकासको उत्कृष्ट अवसर प्रदान गरेका थिए।

गरिमामय उद्घाटन समारोह

  कार्यक्रमको प्रथम दिन अर्थात २५ जुलाई उद्घाटन समारोह अत्यन्तै गरिमामय वातावरणमा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा अखिल असम गोर्खा छात्र संघ, हिमाली आञ्चलिक समितिका सभापति श्री प्रदीप राईज्यूद्वारा संगठनको झण्डोत्तोलन, मूल सचिव श्री अजय विश्वकर्माज्यूद्वारा स्मृति तर्पण, श्रीपञ्चमी हिमाली उच्च माध्यमिक विद्यालयका प्रधान शिक्षकज्यूद्वारा मुख्य प्रवेशद्वार उद्घाटन तथा असम नेपाली साहित्य सभा, बाक्सा जिल्ला समितिका सभापति एवं श्रीपञ्चमी हिमाली उच्च माध्यमिक विद्यालयका प्रतिष्ठापक पूर्व प्रधान शिक्षक श्री ईश्वरप्रसाद गौतमज्यूद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो।

उद्घाटन समारोहमा गाउँ तथा आसपासका क्षेत्रका वरिष्ठ शिक्षाविद्, शिक्षक–शिक्षिका, समाजसेवी, बुद्धिजीवी, अभिभावक, सशस्त्र सीमा बल (SSB) का अधिकृतहरू, विभिन्न सामाजिक तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू तथा स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, अखिल असम गोर्खा छात्र संघ, बाक्सा जिल्ला समितिका सभापति श्री दीपेन्द्र कार्कीज्यू, मुखपत्र सचिव श्री पृथु प्रजुलीज्यू तथा सूचना एवं प्रविधि सचिव श्री पवन सोनारज्यू को समेत गरिमामय उपस्थिति रहेको थियो, जसले कार्यक्रमको गरिमा अझ अभिवृद्धि गरेको थियो। उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै शिक्षा नै समाज रूपान्तरणको आधारशिला भएको उल्लेख गर्नुभयो। उहाँहरूले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम, नैतिकता, सकारात्मक सोच, सामाजिक उत्तरदायित्व तथा राष्ट्रप्रेमको भावना आत्मसात् गर्दै जीवनमा निरन्तर अघि बढ्न प्रेरित गर्नुभयो। साथै, हिमाली आञ्चलिक समितिले ग्रीष्मकालीन बिदाको अवसरलाई सदुपयोग गर्दै गाउँस्तरमै यति व्यवस्थित, अनुकरणीय तथा गुणस्तरीय शैक्षिक कार्यक्रम आयोजना गरेकोमा मुक्तकण्ठले प्रशंसा व्यक्त गर्नुभयो। जिल्ला समितिका पदाधिकारीहरूले पनि यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, अध्ययनप्रतिको लगाव तथा सामाजिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक शैक्षिक अभियानहरूमा आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो।

चार दिनसम्म विविध शैक्षिक तथा बौद्धिक गतिविधि

 चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखी चित्रकला प्रतियोगिता, निबन्ध लेखन, समाचार वाचन, हाजिरीजवाफ (Quiz), तत्क्षण वक्तृत्वकला (Extempore Speech), स्मरण शक्ति परीक्षण, कविता वाचन तथा वादविवाद प्रतियोगिता लगायतका विविध शैक्षिक तथा बौद्धिक गतिविधिहरू सञ्चालन गरिएका थिए। प्रत्येक प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो प्रतिभा, सिर्जनशीलता, तार्किक सोच, आत्मविश्वास तथा अभिव्यक्ति क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए। सम्पूर्ण प्रतियोगिताहरू निष्पक्ष, पारदर्शी तथा व्यवस्थित रूपमा सम्पन्न गरिएका थिए।

कार्यक्रमका चार दिन विद्यार्थीहरूका लागि केवल प्रतियोगितामा सहभागी हुने अवसर मात्र नभई सिकाइ, अनुभव आदान–प्रदान, समूहगत सहकार्य, अनुशासन, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर बने। यस कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको लगाव बढाउनुका साथै भविष्यप्रति सकारात्मक सोच विकास गर्न पनि महत्वपूर्ण योगदान पुर्‍याएको सहभागी अभिभावक तथा शिक्षाविद्हरूले बताएका छन्।

समापन समारोह तथा विशेष सम्मान

   कार्यक्रमको समापन समारोह २८ जुलाई का दिन अत्यन्त उत्साहपूर्ण तथा गरिमामय वातावरणमा सम्पन्न भएको थियो। समापन अवसरमा चार दिनसम्म सञ्चालन भएका विभिन्न प्रतियोगिताका विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गरियो।

साथै, सन् २०२६ को NEET परीक्षामा सफल भई हिमाली आञ्चलिक क्षेत्र तथा समग्र गोर्खा समाजको गौरव बढाउन सफल सुश्री मोनिषा कार्की, सुश्री चितल कार्की, सुश्री पूजा ढुंगेल तथा श्री विवेक गौतमलाई अखिल असम गोर्खा छात्र संघ, हिमाली आञ्चलिक समितिको तर्फबाट विशेष सम्मान तथा अभिनन्दन गरिएको थियो। उहाँहरूको उल्लेखनीय उपलब्धिको उच्च कदर गर्दै सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। उपस्थित अतिथिहरूले उहाँहरूको सफलता सम्पूर्ण विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै निरन्तर मेहनत, अनुशासन, दृढ इच्छाशक्ति र लक्ष्यप्रतिको समर्पणले सफलता अवश्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा अझ धेरै विद्यार्थीहरूले यस्तै उपलब्धि हासिल गरी समाज, क्षेत्र तथा राष्ट्रको गौरव बढाउने अपेक्षा पनि व्यक्त गर्नुभयो।

कार्यक्रमको उपलब्धि

    यस चार दिवसीय शैक्षिक कार्यक्रमले विद्यार्थीहरूमा केवल शैक्षिक प्रतिस्पर्धाको भावना मात्र नभई नेतृत्व क्षमता, आत्मविश्वास, सिर्जनशीलता, सार्वजनिक रूपमा बोल्ने कला, समय व्यवस्थापन, तार्किक विश्लेषण क्षमता, अनुशासन, सामाजिक उत्तरदायित्व तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेलेको सहभागी शिक्षाविद्, अभिभावक तथा अतिथिहरूले बताएका छन्। गाउँस्तरमा सञ्चालन गरिएको यस्तो कार्यक्रमले भविष्यमा अझ धेरै विद्यार्थीहरूलाई उच्च शिक्षा, प्रतियोगी परीक्षा तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

आभार तथा प्रतिबद्धता

 यस ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने श्रीपञ्चमी हिमाली उच्च माध्यमिक विद्यालय परिवार, सम्पूर्ण शिक्षाविद्, शिक्षक–शिक्षिका, निर्णायक मण्डल, सशस्त्र सीमा बल (SSB) का अधिकृतहरू, अभिभावक, समाजसेवी, शुभचिन्तक, स्वयंसेवक, स्थानीयवासी तथा सम्पूर्ण सहभागी विद्यार्थीहरू प्रति अखिल असम गोर्खा छात्र संघ, हिमाली आञ्चलिक समितिले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।

अन्त्यमा, “Learn Today, Lead Tomorrow” (आज सिकौँ, भोलि नेतृत्व गरौँ) भन्ने मूल नारालाई आत्मसात् गर्दै हिमाली आञ्चलिक समितिले भविष्यमा पनि यस्ता गुणस्तरीय शैक्षिक, बौद्धिक, सामाजिक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरूलाई अझ व्यापक र प्रभावकारी रूपमा सञ्चालन गर्दै समाजमा शिक्षाको स्तर अभिवृद्धि गर्ने, प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने तथा सक्षम, अनुशासित, नैतिकवान र जिम्मेवार नयाँ पुस्ता निर्माण गर्ने आफ्नो अभियानलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिवेदक- श्रीमान पवन सोनारी, सुचना एवं प्रविधि सचिव, बाक्सा जिला समिति आग्सु

📤 Share this story
← First Story in Issue
Scroll to Top