
उदालगुडी, ११ अगस्ट: अखिल असम गोर्खा छात्र संघ (आग्सु) उदालगुडी जिल्ला समितिको कार्यकारिणी सभा मंगलबार जिल्ला कार्यालयमा सम्पन्न भएको छ। सभा आग्सु उदालगुडी जिल्ला समितिका भारप्राप्त सभापति किशोर काश्यपको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला समितिका मूल-सचिव किशोर सिर्पालीले सभाको सञ्चालन गरेका थिए।
सभामा संगठनको वर्तमान सांगठनिक अवस्था, आगामी असम गोर्खा सम्मेलनको केन्द्रीय अधिवेशन तथा आग्सु उदालगुडी जिल्ला समितिको ४३औँ प्रतिनिधि सभाका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले संगठनलाई अझ सुदृढ, प्रभावकारी र व्यवस्थित बनाउँदै नयाँ नेतृत्व चयन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा आफ्ना धारणा राखेका थिए।
छलफलपश्चात् सभाले आगामी २० सेप्टेम्बर २०२६ मा आग्सु उदालगुडी जिल्ला समितिको ४३औँ प्रतिनिधि सभा आयोजना गर्ने सर्वसम्मत निर्णय गरेको छ। प्रतिनिधि सभालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी तत्कालदेखि नै अघि बढाउने निर्णयसमेत गरिएको छ।
यसैबीच, प्रतिनिधि सभाको अवसरमा जिल्ला समितिको मुखपत्र ‘प्रभात’ विमोचन गर्ने निर्णय गरिएको छ। मुखपत्रको सम्पादन तथा प्रकाशन कार्यका लागि मुख्य सम्पादक धर्मेन्द्र गौतमको नेतृत्वमा सचिवहरू तिलक गौतम, रूपम आत्रेय, दीपक अधिकारी र नव शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ।
सभाले आगामी प्रतिनिधि सभाको सफल आयोजनाका लागि सम्पूर्ण आञ्चलिक समिति, पदाधिकारी तथा सदस्यहरूलाई आवश्यक तयारीमा सक्रिय रूपमा जुट्न आह्वान गर्दै संगठनात्मक एकता र सक्रिय सहभागितालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिवेदक : सञ्जय क्षेत्री, मूल-सचिव, टाङ्ला आञ्चलिक समिति ।