
खौराङ ९ अगस्ट: अखिल असम गोर्खा छात्र संघ (आग्सु) खौराङ आञ्चलिक समितिको आयोजनामा “१२औं शहीद मेजर दुर्गा मल्ल स्मृति फुटबल प्रतियोगिता–२०२६” आइतबार देखि उदालगुडी जिल्लाको मनपुर खेल मैदानमा भव्य रूपमा सुरु भएको छ ।
भारतीय स्वतन्त्रता संग्रामका वीर योद्धा तथा अमर शहीद मेजर दुर्गा मल्लको स्मृतिमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थित रहँदै आग्सु उदालगुड़ी जिल्ला समितिका कार्यवाहक सभापति श्री किशोर कश्यपले खेलमैदान उद्घाटन र BPF दलका भैरवकुण्ड ब्लक TCLCC का अध्यक्ष श्री सानेस्वर वारीले बललाई किक गरि खेल प्रारम्भ गर्छन् भने उक्त उद्घाटन समारोहमा विभिन्न सामाजिक व्यक्तित्व, खेलप्रेमी, स्थानीय बासिन्दा तथा थुप्रै जन मानशहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा वक्ताहरूले शहीद मेजर दुर्गा मल्लको राष्ट्रप्रेम, साहस र बलिदानको स्मरण गर्दै उहाँका आदर्शलाई वर्तमान पुस्तामाझ जीवित राख्न यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक सद्भाव विकास गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गरे। उनीहरूले ग्रामीण क्षेत्रका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे ।
प्रतियोगिताको उद्घाटन खेल उत्साहजनक वातावरणबीच सम्पन्न भएको थियो। खेल मैदानमा उपस्थित दर्शकहरूको उल्लेखनीय सहभागिता र खेलाडीहरूको जोशपूर्ण प्रदर्शनले प्रतियोगिताको सुरुवातलाई थप रोमाञ्चक बनाएको थियो। आयोजकका अनुसार प्रतियोगितामा विभिन्न क्षेत्रका फुटबल क्लब तथा टोलीहरूको सहभागिता रहेको छ।
खौराङ आञ्चलिक समितिले प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदको विकाससँगै गोर्खा समुदायका युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्नु तथा शहीद मेजर दुर्गा मल्लको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनु रहेको जनाएको छ । यस प्रतियोगितामा म्याच कमिश्नर को रूपमा उदालगुडी जिल्ला खेल संघ (UDSA) का कार्यकारिणी सदस्य श्री कुञ्जा छेत्री हुनुन्छ भने श्री एलिश मोचाहारी – इन्चार्ज रेफ्री, श्री मृदुल बसुमतारी , श्री मोन्जित दैमारी, श्री बिकाश बसुमतारी, श्री छात्र बहादुर छेत्री रेफ्रीहरूको सञ्चालनमा आगामी २५ अगस्ट २०२६ (बलिदान दिवस) सम्म सञ्चालन हुने र सो अवसरमा विजेता तथा उपविजेता टोलीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
स्थानीय खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको यस प्रतियोगिताले गोर्खा समुदायको इतिहास, गौरव र बलिदानको सन्देशलाई समाजमा फैलाउन समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । आयोजक समितिले प्रतियोगिताको सफलताका लागि सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति, संस्था, प्रायोजक, स्वयंसेवक तथा खेलप्रेमीहरूप्रति आभार व्यक्त गर्दै आगामी खेलहरूमा पनि उपस्थित भई खेलाडीहरूको हौसला बढाउन सबैमा अनुरोध गरेको छ ।
प्रतिवेदक: श्री नारायण दाहाल, सचिव, खौराङ आञ्चलिक समिति।