
सुवनखाटा, ४ अगस्ट २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), सुवनखाटा आञ्चलिक समितिको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम ४ अगस्ट २०२६ मा सम्पन्न भएको छ। शपथ ग्रहणसँगै नवगठित कार्यसमितिले आगामी दुईवर्षीय कार्यकालका लागि औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेको छ।
कार्यक्रममा आग्सु बिटिसी क्षेत्रीय समितिका पूर्व मूल–सचिव जीवन भट्टराई तथा वर्तमान मूल–सचिव राजु सुवेदीको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, आग्सु बाक्सा जिल्ला समितिका उपसभापतिद्वय गिरोह दाहाल र राम निरौला, सांगठनिक सचिव रोशन बुढाथोकी, मुखपत्र प्रमुख पृथु पराजुली तथा सदस्य जगन पौडेललगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित सभापति कृष्ण विश्वकर्मा र मूल–सचिव प्रकाश नेउपानेसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले संगठनको आदर्श, उद्देश्य, नीति, अनुशासन र गरिमालाई उच्च सम्मान गर्दै आगामी दुईवर्षीय कार्यकालमा पूर्ण निष्ठा, इमानदारी, जिम्मेवारी र समर्पणका साथ कार्य गर्ने प्रतिबद्धतासहित शपथ ग्रहण गरेका छन्।
नयाँ कार्यसमितिले सुवनखाटा क्षेत्रमा आग्सुको सांगठनिक गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै विद्यार्थी तथा युवाहरूको शैक्षिक उन्नति, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, सामाजिक चेतना तथा हकहितका विषयलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा संगठनको विकास र सफलताका लागि आपसी एकता, सहकार्य, अनुशासन र समन्वयलाई विशेष महत्व दिनुपर्नेमा जोड दिइएको थियो। साथै, नवनिर्वाचित कार्यसमितिले अग्रज, अभिभावक, पूर्व पदाधिकारी, शुभचिन्तक तथा आम सदस्यहरूबाट प्राप्त हुँदै आएको साथ, सहयोग, सुझाव र मार्गदर्शनप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ।
सभापति कृष्ण विश्वकर्मा र मूल–सचिव प्रकाश नेउपानेको नेतृत्वमा नवगठित सुवनखाटा आञ्चलिक समितिले विद्यार्थी तथा युवामुखी शैक्षिक कार्यक्रम, सचेतनामूलक अभियान, प्रतिभा विकास, सामाजिक सेवा, सांस्कृतिक तथा रचनात्मक गतिविधिमार्फत समाजमा सकारात्मक योगदान पुर्याउने लक्ष्य लिएको छ।
प्रतिवेदक : श्रीमान पवन सोनारी, सूचना एवं प्रविधि सचिव, बाक्सा जिल्ला समिति