
मरिगाउँ, ०८ अगस्ट २०२६: असममा हालै आएको विनाशकारी बानका कारण जनजीवन प्रभावित हुनुका साथै पशुधन पनि ठूलो खाद्य संकटबाट गुज्रिएका थिए। यसै विषम परिस्थितिलाई ध्यानमा राख्दै अखिल असम गोर्खा छात्र संघ (AAGSU) मरिगाउँ जिल्ला समितिले उजनी असमका बानपीड़ित क्षेत्रहरू (विशेषगरी शिवसागर लगायतका बान प्रभावित इलाकाहरू) का लागि राहत, महिला स्वास्थ्य सामग्री तथा गो-खाद्य वितरण यात्राको आयोजना गरेको थियो।
“अभियान गो-रक्षाको स्वार्थ” नाम दिइएको यस परोपकारी कार्यको सुरुवात ७ अगस्ट २०२६ का दिन अमलिघाट क्षेत्रबाट गरिएको थियो।
सामूहिक सहयोग र एकताको उदाहरण:
बानपीड़ित जनता र पशुधनको रक्षाका लागि मरिगाउँ जिल्ला आग्सुका उप-सभापति आकाश अधिकारीको जोशिलो नेतृत्त्वमा जिल्ला समितिका प्रतिनिधिहरू तथा स्थानीय विभिन्न सामाजिक र व्यवसायी संघ-संस्थाहरूले हातेमालो गरेका थिए। यस अभियानलाई सफल बनाउन तल दिइए अनुसारका संस्थाहरूको विशेष सहयोग रहेको थियो:
- अमलिघाट-वासी जनता
- अमलिघाट जनकल्याण समिति
- सीताजखला महिला समिति
- अमलिघाट महिला उन्नयन समिति (NGO)
- भाइ-भाइ दुग्ध उत्पादक समवाय समिति
- सीताजखला दुग्ध उत्पादक समवाय समिति
- खेत्री (Khetri) का सर्वसाधारण जनता
राहत सामग्री, महिला स्वास्थ्य सहायता र पशु आहार वितरण:
बानको समयमा मानिसहरूका लागि खानेकुराको व्यवस्था भए पनि घरपालुवा पशुधन भोकमरीको चपेटामा परेका थिए। यही कुरालाई मनन गर्दै आग्सु दल र स्थानीय सचेत नागरिकहरूको संयुक्त प्रयासमा संकलित दाना लगायतका गो-खाद्य सामग्रीहरू ट्रकमा लोड गरी शिवसागर लगायतका उजनी असमका बान प्रभावित क्षेत्रहरूमा वितरण गरिएको थियो।
यसका साथै, बान प्रभावित क्षेत्रमा महिला तथा युवतीहरूको व्यक्तिगत स्वास्थ्य र सरसफाइलाई ध्यानमा राख्दै महिलाहरूका लागि स्यानिटरी प्याड (Sanitary Pads) समेत विशेष रूपमा वितरण गरिएको थियो।
समाज सेवामा आग्सुको निरन्तर समर्पण:
अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले सधैँ समाज सेवा, प्राकृतिक विपद् व्यवस्थापन र जात-धर्म भन्दा माथि उठेर असमका हरेक समुदायलाई सहयोग गर्दै आएको छ। मरिगाउँ जिल्ला समिति र अमलिघाटका स्थानीय बासिन्दाहरूको यो मानवीय कार्यले समाजमा एकता, भ्रातृत्व र करुणाको सन्देश प्रवाह गरेको छ।
यस पुण्य कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण दाताहरू, स्थानीय बासिन्दाहरू तथा युवा स्वयंसेवकहरू प्रति आग्सु मरिगाउँ जिल्ला समितिले हार्दिक आभार व्यक्त गरेको छ।
प्रतिवेदक: आदित्य शर्मा, सूचना एवं प्रविधि सचिव, आग्सु मरिगाउँ जिल्ला समिति