All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #46
September 3, 2026

गोपनेरी ग्यास कम्पनीमा कर्मचारी कटौतीको निर्णयविरुद्ध विरोध प्रदर्शन।

📅 September 3, 2026
✍️ AAGSU
🕒 12:04 AM

माकुम, २८ अगस्त: गोपनेरी ग्यास कम्पनीले यसअघि दुई सिफ्टमा सञ्चालन गर्दै आएको कामलाई हाल एक सिफ्टमा सीमित गर्ने निर्णय गरेपछि कर्मचारीहरूमा असन्तुष्टि बढेको छ। उक्त निर्णयका कारण ठूलो सङ्ख्यामा कर्मचारी कटौती हुनसक्ने आशङ्का व्यक्त गर्दै कर्मचारीहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन्।

कम्पनीको सिफ्ट घटाउने निर्णयले करिब ६० प्रतिशतसम्म कर्मचारी कटौती हुनसक्ने र त्यसबाट कर्मचारी तथा उनीहरूका परिवारको जीवनयापनमा प्रतिकूल असर पर्न सक्ने प्रदर्शनकारीहरूले बताएका छन्। उनीहरूले कम्पनीको निर्णय पुनर्विचार गरी कर्मचारीहरूको रोजगारी सुरक्षित गर्न माग गरेका छन्।

विरोध प्रदर्शनमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले पनि सहभागिता जनाउँदै कर्मचारीहरूको न्यायोचित मागप्रति ऐक्यबद्धता जनाएको छ। आग्सुले कर्मचारीहरूको रोजगारी तथा जीवन–जीविकासँग प्रत्यक्ष जोडिएको विषयमा कम्पनी तथा सम्बन्धित पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएको छ।

कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिका सङ्गठनिक सचिव अशोक कुमार लामा, तिनसुकिया जिल्ला समितिका मूलसचिव शङ्कर जैसी लगायत जिल्ला समितिका पदाधिकारी तथा माकुम आञ्चलिक समितिका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कर्मचारीहरूको न्यायोचित अधिकार, रोजगारीको सुरक्षा तथा जीवन–जीविकाको संरक्षणका लागि आगामी दिनमा पनि कर्मचारीहरूको पक्षमा निरन्तर साथ र सहयोग रहने अखिल असम गोर्खा छात्र संघले जनाएको छ।

प्रतिवेदक: मिलन अधिकारी-सभापति, माकुम आञ्चलिक समिति

📤 Share this story
Scroll to Top