
विश्वनाथ, ४ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) उत्तर नागशङ्कर आञ्चलिक समितिका पूर्व सभापति एवं विश्वनाथ जिल्ला समितिका पूर्व उप–सभापति स्व. राजु लिम्बुको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अखिल असम गोर्खा छात्र संघ (आग्सु), विश्वनाथ जिल्ला समितिको एक प्रतिनिधिमण्डलले उहाँको निवासमा पुगेर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
स्व. राजु लिम्बु लामो समयदेखि सङ्गठनसँग आबद्ध रही सङ्गठनको विकास, विस्तार तथा गोर्खा समाजको हितमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। उत्तर नागशङ्कर आञ्चलिक समितिको सभापति तथा विश्वनाथ जिल्ला समितिको उप–सभापतिको जिम्मेवारीमा रहँदा उहाँले सङ्गठनलाई स्थानीय तहमा मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। उहाँको असामयिक निधनले सङ्गठनले एक समर्पित कार्यकर्ता तथा समाजले एक सक्रिय व्यक्तित्व गुमाएको प्रतिनिधिमण्डलले जनाएको छ।
स्व. राजु लिम्बुप्रति श्रद्धाञ्जली अर्पण गर्न पुगेको प्रतिनिधिमण्डलमा केन्द्रीय कार्यकारिणी सदस्य सुनिल सुतार, पूर्व केन्द्रीय सह सचिव लीला राई, विश्वनाथ जिल्ला समितिका कार्यवाहक सभापति तरुण उपाध्याय, मूल–सचिव नबदीप छेत्री, उप–सभापति सूर्य कार्की, सांगठनिक सचिव सचिव कुशल भट्टराई, शिक्षा सचिव नोमल उपाध्याय तथा जिल्ला कार्यकारिणी सदस्य अनुप शर्माको उपस्थिति रहेको थियो।
प्रतिनिधिमण्डलले स्व. राजु लिम्बुको पार्थिव स्मृतिप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँले अखिल असम गोर्खा छात्र संघ (आग्सु) तथा सम्पूर्ण गोर्खा समाजप्रति पुर्याउनुभएको योगदानको स्मरण गरेको थियो। उहाँको सङ्गठनप्रतिको निष्ठा, सक्रियता र जिम्मेवारीप्रतिको प्रतिबद्धता सदैव स्मरणीय रहने प्रतिनिधिमण्डलले जनाएको छ।
यस दुःखद् घडीमा प्रतिनिधिमण्डलले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, परिवारजनलाई यस अपूरणीय क्षति तथा असह्य पीडा सहन गर्ने शक्ति परमेश्वरले प्रदान गरून् भनी प्रार्थना गरिएको थियो।
स्व. राजु लिम्बुको निधनले अखिल असम गोर्खा छात्र संघ (आग्सु) तथा सम्पूर्ण गोर्खा समाजमा अपूरणीय क्षति पुगेको जनाउँदै उहाँले सङ्गठन र समाजका लागि पुर्याउनुभएको योगदानलाई आगामी दिनमा समेत स्मरण गरिरहने प्रतिबद्धता प्रतिनिधिमण्डलले व्यक्त गरेको छ। उहाँको सङ्गठनप्रतिको निष्ठा, योगदान र स्मृति सदैव हाम्रो हृदयमा जीवित रहनेछ।
प्रतिवेदक : नबदीप भट्टराई, मूल–सचिव, विश्वनाथ जिल्ला समिति