
छयदुवार, ८ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), छयदुवार महाविद्यालय एकाइ समितिको प्रतिनिधि सभा आज सम्पन्न भएको छ। संगठनको निर्धारित निर्णयअनुसार पुरानो कार्यकारिणी समिति विघटन गरी उपस्थित प्रतिनिधिहरूको सर्वसम्मतिबाट नयाँ कार्यकारिणी समिति गठन गरिएको छ। सभाको सभापतित्व महाविद्यालय एकाइका सभापति उदयादित्य भरालीले गर्नुभएको थियो भने सभा सञ्चालन मूल–सचिव सुरज कुमार दर्जीले गर्नुभएको थियो।
सभामा पर्यवेक्षकका रूपमा आग्सु विश्वनाथ जिल्ला समितिका सङ्गठनिक सचिव कुशल भट्टराई तथा जिल्ला सदस्य मन कुमार कार्कीको उपस्थिति रहेको थियो। साथै केन्द्रीय समितिका कार्यवाहक सदस्य सुनिल सुतार, असम गोर्खा सम्मेलन गहपुर जिल्ला समितिका उपसभापति किशोर छेत्री, गहपुर आञ्चलिक समितिका सभापति सुमन उपाध्याय, मूल–सचिव मनोज नेवार, प्रचार सचिव नीरज छेत्री, बेगिजन आञ्चलिक समितिका उपसभापति नारायण प्रधान, राजगढ आञ्चलिक समितिका सह–सचिव धीराज छेत्री तथा महाविद्यालय एकाइका पूर्व उपसभापति मनोज विशाल खनालको उपस्थिति रहेको थियो।
सभामा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई सम्बोधन गर्दै केन्द्रीय समितिका कार्यवाहक सदस्य सुनिल सुतारले विद्यार्थी जीवनमा शैक्षिक तथा सांगठनिक गतिविधिको महत्वबारे आफ्नो धारणा राख्नुभएको थियो। उहाँले विद्यार्थीहरूको शैक्षिक विकाससँगै संगठनमा सक्रिय सहभागिताले व्यक्तित्व विकास तथा सामुदायिक एकतालाई थप बलियो बनाउन सहयोग पुर्याउने बताउनुभएको थियो।
त्यसैगरी, असम गोर्खा सम्मेलन गहपुर जिल्ला समितिका उपसभापति किशोर छेत्रीले संगठनको आवश्यकता र सम्पूर्ण गोर्खा समुदाय एकजुट भएर अघि बढ्नुपर्ने विषयमा आफ्ना विचार राख्नुभएको थियो। विश्वनाथ जिल्ला समितिका सङ्गठनिक सचिव कुशल भट्टराईले संगठनको जन्मदेखि वर्तमान स्वरूपसम्म आइपुग्दाको इतिहास, संगठन निर्माणमा अग्रज आग्सु कर्मीहरूले गरेको त्याग, योगदान तथा दिएको समयबारे विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो।
सभामा संगठनका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा महाविद्यालय एकाइको आगामी कार्यदिशा, विद्यार्थीहरूको हकहित तथा संगठनलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। छलफलपछि उपस्थित प्रतिनिधिहरूको सर्वसम्मतिबाट नयाँ कार्यकारिणी समिति गठन गरिएको हो।
नवगठित कार्यकारिणी समितिको सभापतिमा अशोक दर्जी र मूल–सचिवमा पूजा सोनारी चयन हुनुभएको छ। नयाँ नेतृत्वले महाविद्यालयका विद्यार्थीहरूको हकहितका साथै शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै संगठनका उद्देश्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
सभामा संगठनको नीति, अनुशासन तथा उद्देश्यलाई आत्मसात् गर्दै एकताबद्ध भएर कार्य गर्नुपर्नेमा जोड दिइएको थियो। विद्यार्थी समुदायका विभिन्न समस्या तथा आवश्यकताहरूलाई प्राथमिकताका साथ उठान गरी सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा पनि छलफल गरिएको थियो।
यस अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) को तर्फबाट नवनिर्वाचित सभापति अशोक दर्जी, मूल–सचिव पूजा सोनारीसहित ५२ सदस्यीय सम्पूर्ण कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ समितिले संगठनको गरिमा कायम राख्दै विद्यार्थी तथा समाजको हितमा समर्पित भएर कार्य गर्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिवेदक : उदयादित्य भराली–मुख्य उपदेश्टा , छयदुवार महाविद्यालय एकाइ