
रङ्गिया, १ अक्टोबर: अखिल असम गोर्खा छात्र संघ (आग्सु) रङ्गिया कलेज इकाइको आयोजनामा सातौँ नवागत छात्र–छात्रा स्वागत समारोह तथा नयाँ कार्यसमिति गठन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा मुख्य अतिथिका रूपमा पूर्वमन्त्री श्री पदमबहादुर चौहान उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा बीटीआर क्षेत्रका मूलसचिव श्री राजु सुवेदी, आग्सु तामुलपुर जिल्ला समितिका मूलसचिव श्री बिप्लव चिमरिया, उपसभापति श्री राजन अधिकारी, तामुलपुर आञ्चलिक समितिका सभापति श्री नारायण गौतमलगायत विभिन्न क्षेत्रका अतिथि तथा संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य कलेज तथा विश्वविद्यालयमा नयाँ प्रवेश गरेका गोर्खा छात्र–छात्राहरूलाई आत्मीय स्वागत गर्नुका साथै उनीहरूमा शैक्षिक जागरूकता, अनुशासन, नेतृत्व क्षमता तथा सांस्कृतिक चेतनाको विकास गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा उपस्थित अतिथि तथा वक्ताहरूले विद्यार्थी जीवनको महत्त्व, उच्च शिक्षाको आवश्यकता, अनुशासन तथा सफल भविष्य निर्माणका विषयमा प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रमको दोस्रो सत्रमा रङ्गिया कलेज इकाइको पुरानो कार्यसमिति विधिवत् रूपमा विघटन गरी १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। नवगठित समितिको सभापतिमा नेहा आले मगर तथा मूलसचिवमा सिद्धार्थ प्रधान चयन हुनुभएको छ।
समारोहमा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। आग्सु केन्द्रीय समितिका सह-सांस्कृतिक सचिव सिबु सोनारले सांगीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो। नयाँ तथा पुराना विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक र जीवन्त बनाएको थियो।
अतिथिहरूको मार्गदर्शन, विद्यार्थीहरूको सक्रिय सहभागिता तथा विविध सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न समारोहले रङ्गिया कलेजमा आग्सुको सांगठनिक गतिविधिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिबेदक: श्री नारायण गौतम, सभापति, आग्सु, तामुलपुर सदर आञ्चलिक समिति।