All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #56
•
November 12, 2026

भव्य रूपमा सम्पन्न ‘ब्रेव हार्ट’ एघारौँ संस्करण मेजर दुर्गा मल्ल जिल्ला स्तरीय गोर्खा कप फुटबल प्रतियोगिता–२०२६ को फाइनल खेल, महिला वर्गमा सनसाइन एफसी र पुरुष वर्गमा एमजे स्ट्राइकर च्याम्पियन

📅 November 12, 2026
✍️ AAGSU
🕒 12:03 AM

६ माइल रामपुर, ११ नोभेम्बरः असम–अरुणाचल प्रदेशको सीमावर्ती क्षेत्र ६ माइल रामपुरस्थित जागुन खेलमैदानमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिराप–जागुन आञ्चलिक समितिको आयोजनामा तथा सम्पूर्ण शाखा समितिहरूको सहयोगमा गत २५ अक्टोबरदेखि सञ्चालन हुँदै आएको ‘ब्रेव हार्ट’ एघारौँ संस्करण मेजर दुर्गा मल्ल जिल्ला स्तरीय गोर्खा कप फुटबल प्रतियोगिता–२०२६ को फाइनल खेल तथा समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन खेलमैदानमा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

फाइनल खेल तथा समापन समारोहमा प्रमुख अतिथिका रूपमा गोर्खा डेभलपमेन्ट काउन्सिलका अध्यक्ष श्री प्रेम तामाङज्यू उपस्थित रहनुभएको थियो। यसका साथै अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिका सम्माननीय सभापति तथा अन्य पदाधिकारीगण, आग्सु तिनसुकिया जिल्ला समितिका सभापति श्री देव गुरुङज्यू, मूल-सचिव श्री शंकर जैसीज्यू तथा जिल्ला समितिका अन्य पदाधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो। साथै क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरू, समाजसेवी तथा आग्सुका पूर्वकर्मीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमको गरिमा थप बढाएको थियो।

प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष दुवै वर्गका फाइनल खेलहरू अत्यन्त रोमाञ्चक, प्रतिस्पर्धात्मक र दर्शनीय बनेका थिए। महिला वर्गको फाइनल खेलमा सनसाइन एफसी जागुन र डिगबोई एफसीबीच कडा प्रतिस्पर्धा भएको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सनसाइन एफसी जागुनले २–० गोलको अन्तरले डिगबोई एफसीलाई पराजित गरी महिला वर्गको उपाधि आफ्नो नाममा गर्न सफल भयो।

त्यसैगरी पुरुष वर्गको फाइनल खेलमा लालपहाड एफसी र एमजे स्ट्राइकरबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। निर्धारित समयको खेलमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएपछि पेनाल्टी सुटआउटमार्फत विजेताको टुङ्गो लगाइएको थियो। अन्ततः एमजे स्ट्राइकरले बाजी मार्दै पुरुष वर्गको च्याम्पियन बन्न सफल भयो। दुवै टोलीका खेलाडीहरूले खेल अवधिभर उत्कृष्ट खेल कौशल, अनुशासन र प्रतिस्पर्धात्मक भावना प्रदर्शन गरेका थिए।

मेजर दुर्गा मल्लको नाममा समर्पित यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदको विकाससँगै स्थानीय युवा प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ। विशेषगरी महिला तथा पुरुष दुवै वर्गमा प्रतियोगिता सञ्चालन गरिनुले खेलकुद क्षेत्रमा युवायुवतीहरूको सहभागिता र उत्साह अभिवृद्धि गर्न सकारात्मक योगदान पुर्‍याएको छ। साथै खेलकुदको माध्यमबाट विभिन्न क्षेत्रका युवाहरूबीच आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यमा पनि प्रतियोगिता सफल भएको छ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ र समर्थन प्रदान गर्नुहुने सम्पूर्ण अतिथिगण, खेलाडी, खेलप्रेमी दर्शकवृन्द, रेफ्री, प्रायोजक, सहयोगी संस्था तथा आग्सुका सम्पूर्ण शाखा समितिहरूप्रति आयोजक समितिको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरिएको छ।

प्रतिवेदक : सागर भट्टराई-उप-सभापति, तिराप–जागुन आञ्चलिक समिति

📤 Share this story
Scroll to Top