
बङगाईगाउँ, १७ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बङगाईगाउँ जिल्ला समितिको एक टोलीले आज बङगाईगाउँस्थित AIM Academy मा अध्ययनरत गोर्खा छात्र–छात्राहरूसँग परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा आग्सु बङगाईगाउँ जिल्ला समितिका सभापति श्री प्रभाकर छेत्रीको नेतृत्वमा जिल्ला समितिका विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो। साथै, आग्सु केन्द्रीय समितिका वित्त सचिव श्री रिजु छेत्रीको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा आग्सु टोलीले AIM Academy का उप–प्रधानाचार्यज्यूलाई सम्मान तथा अभिनन्दन गरेको थियो। त्यस अवसरमा शैक्षिक क्षेत्रमा संस्थाले पुर्याउँदै आएको योगदानप्रति सम्मान व्यक्त गर्दै विद्यार्थीहरूको हितमा आगामी दिनहरूमा पनि आवश्यक सहकार्य र समन्वय कायम राख्ने विषयमा छलफल गरिएको थियो।
अन्तरक्रियाका क्रममा Academy मा अध्ययनरत गोर्खा छात्र–छात्राहरूसँग परिचय आदानप्रदान गर्नुका साथै आग्सुको आवश्यकता, उद्देश्य, भूमिका तथा विद्यार्थीहरूको हकहितका विषयमा जानकारी प्रदान गरिएको थियो। विशेषगरी विद्यार्थीहरूले अध्ययनका क्रममा कुनै किसिमको समस्या, असुविधा वा असुरक्षाको अवस्था सामना गर्नुपरेमा संगठनसँग सम्पर्क गरी आवश्यक सहयोग तथा साथ प्राप्त गर्न सकिने विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो।
त्यसैगरी, विद्यार्थीहरूको सुरक्षा, विशेषतः छात्राहरूको सुरक्षा सम्बन्धमा पनि आवश्यक जानकारी प्रदान गर्दै कुनै समस्या उत्पन्न भएमा समयमै सम्बन्धित व्यक्ति तथा संगठनलाई जानकारी गराउन आग्रह गरिएको थियो। विद्यार्थीहरूको शैक्षिक तथा सामाजिक सुरक्षाका लागि आग्सु सदैव साथमा रहने प्रतिबद्धता टोलीले व्यक्त गरेको थियो।
कार्यक्रमले विद्यार्थी र संगठनबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै विद्यार्थीहरूका समस्या तथा आवश्यकताबारे प्रत्यक्ष रूपमा बुझ्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताइएको छ।
प्रतिवेदक: योगेश गिरि-सूचना एवं प्रविधि सचिव, बङगाईगाउँ जिल्ला समिति