
उत्तर नागशंकर, १० फेब्रुवारी : अखिल असम गोर्खा छात्र संघ (आग्सु) उत्तर नागशंकर आञ्चलिक समितिले आगामी हुन गइरहेको मेट्रिक तथा हायर सेकेन्डरी परीक्षामा सहभागी हुन लागेका उत्तर नागशंकर क्षेत्रअन्तर्गतका सम्पूर्ण छात्र–छात्रालाई लक्षित गर्दै प्रेरणामूलक घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। शैक्षिक यात्राको महत्वपूर्ण मोडमा उभिएका परीक्षार्थीहरूको मनोबल उच्च राख्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा आग्सुका कार्यकर्ताहरू विद्यार्थीहरूको घर–घरमा पुगेर शुभेच्छा ज्ञापन गर्नुका साथै एक–एक वटा कलम प्रदान गरेका थिए।
कार्यक्रममार्फत संघले शिक्षा नै समाज परिवर्तनको आधार हो भन्ने सन्देश प्रवाह गर्दै परीक्षाको तयारीमा जुटिरहेका विद्यार्थीहरूलाई आत्मविश्वास, अनुशासन र निरन्तर मेहनतका साथ अघि बढ्न प्रेरित गरेको छ। संघका प्रतिनिधिहरूले विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै परीक्षाप्रति सकारात्मक सोच राख्न, तनावबाट टाढा रहन र लक्ष्यप्रति एकाग्र रहन आग्रह गरेका थिए। कलम वितरणलाई केवल सामग्री सहयोगका रूपमा नभई ज्ञान, आशा र उज्ज्वल भविष्यतर्फको प्रतीकात्मक सन्देशका रूपमा प्रस्तुत गरिएको थियो।
आग्सु उत्तर नागशंकर आञ्चलिक समितिका अनुसार विद्यार्थीहरू नै भोलिका कर्णधार भएकाले उनीहरूको शैक्षिक सफलतामा साथ दिनु सामाजिक दायित्व हो। सीमित साधनस्रोतका बीच पनि अध्ययनरत विद्यार्थीहरूलाई सानो सहयोगले ठूलो हौसला दिन सक्ने विश्वासका साथ यो कार्यक्रम अघि बढाइएको जनाइएको छ। घरदैलो कार्यक्रमका क्रममा धेरै विद्यार्थीहरूले संघको यस पहलप्रति आभार व्यक्त गर्दै यसले आफूहरूमा थप उत्साह र आत्मबल पैदा गरेको प्रतिक्रिया दिएका थिए।
यस अवसरमा अभिभावक वर्गले पनि आग्सुको सक्रियतालाई सकारात्मक रूपमा लिँदै विद्यार्थी–मैत्री यस्ता कार्यक्रमले शिक्षा र समाजबीचको सम्बन्ध अझ सुदृढ हुने धारणा व्यक्त गरेका छन्। संघले विगतदेखि नै शैक्षिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमार्फत विद्यार्थीहरूको हकहित र समग्र समाजको उन्नतिका लागि काम गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रम प्रेरनादायी तथा अनुशासित रूपमा सम्पन्न भएको जनाउँदै आग्सु उत्तर नागशंकर आञ्चलिक समितिले मेट्रिक तथा हायर सेकेन्डरी परीक्षामा सहभागी सम्पूर्ण छात्र–छात्रालाई सफलताको हार्दिक शुभेच्छा व्यक्त गरेको छ। संघले सबै परीक्षार्थीले आफ्नो परिश्रम, लगनशीलता र आत्मविश्वासको बलमा उत्कृष्ट नतिजा हासिल गरी परिवार, समाज र क्षेत्रको गौरव बढाउने विश्वास व्यक्त गरेको छ।
प्रतिवेदक: किशन प्रधान-सभापति,उत्तर नागशंकर आञ्चलिक समिति।