
ढेकियाजुली, ३ अगस्ट २०२६: ढेकियाजुली निवासी, सरल र मिलनसार स्वभावका शिक्षक तथा अखिल असम गोर्खा छात्र संघ (आग्सु) ढेकियाजुली आञ्चलिक समितिका पूर्व मूल सचिव स्वर्गीय चन्दन छेत्रीको रहस्यमय मृत्युले सम्पूर्ण गोर्खा समाजलाई गहिरो शोक र चिन्तामा डुबाएको छ। घटनाप्रति अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले सत्य तथ्यमा आधारित निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।
आग्सुका मूल सचिव श्री सोमराज सोनारको नेतृत्वमा केन्द्रीय, जिल्ला तथा स्थानीय नेतृत्वसहितको प्रतिनिधिमण्डलले स्वर्गीय चन्दन छेत्रीको निवासमा पुगेर शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो। सो अवसरमा संगठनका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकपत्र हस्तान्तरण गरिएको थियो।
प्रतिनिधिमण्डलले परिवारसँग भेटघाट गर्दै यस दुःखद घडीमा संगठन सदैव परिवारको साथमा रहने विश्वास दिलाएको थियो। साथै, स्वर्गीय चन्दन छेत्रीले संगठन तथा समाजप्रति पुर्याएको योगदानको उच्च सम्मान गर्दै उहाँको स्मृतिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
त्यसपश्चात् आग्सुको प्रतिनिधिमण्डलले ढेकियाजुली प्रहरी थानाका प्रभारी अधिकारीसँग भेट गरी घटनाको अनुसन्धानबारे विस्तृत छलफल गरेको थियो। आग्सुले घटनाको निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित अनुसन्धान सम्पन्न गरी वास्तविक सत्य यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेको छ। साथै, घटनामा संलग्न जो कोही भए पनि कानुन बमोजिम कडा कारबाही गर्दै पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरिएको छ।
आग्सुले यस घटनाको अनुसन्धान प्रक्रियालाई निरन्तर निगरानीमा राख्ने र सत्य तथा न्याय स्थापित नभएसम्म पीडित परिवारको साथमा दृढतापूर्वक उभिरहने प्रतिबद्धता पुनः दोहोराएको छ।
स्वर्गीय चन्दन छेत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।