
गुवाहाटी, १ अगस्ट २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले आज Ref. No. AAGSU/2026/GM/127 काे सूचना मार्फत शिवसागर जिल्लाको बाढी प्रभावित क्षेत्रमा राहत, श्रमदान तथा मानवीय सेवामा सहभागी हुन सम्पूर्ण संगठनात्मक नेतृत्वलाई आह्वान गरेको छ। आग्सुको केन्द्रीय कार्यालयबाट जारी आधिकारिक सूचना अनुसार आगामी ६ अगस्ट २०२६ (बिहीबार) शिवसागर जिल्लाका बाढी प्रभावित क्षेत्रमा विशेष मानवीय सेवा अभियान सञ्चालन गरिने भएको हो।
आग्सुका केन्द्रीय सभापति श्री नुमल छेत्री तथा मूल सचिव श्री सोमराज सोनारद्वारा हस्ताक्षरित सूचनामा केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी, बिटीसी क्षेत्रीय समिति तथा सबै जिल्ला समितिका नेतृत्ववर्गलाई अभियानमा सक्रिय रूपमा सहभागी हुन अनुरोध गरिएको छ। साथै, आवश्यक तयारीका साथ निर्धारित स्थानमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सबै नेतृत्वलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
सूचनामा प्राकृतिक विपद्को यस कठिन घडीमा बाढीपीडित जनमानसप्रति संगठनको सामाजिक उत्तरदायित्व निर्वाह गर्नु प्रत्येक सदस्यको दायित्व भएको उल्लेख गरिएको छ। आग्सुले विगतदेखि नै सामाजिक सेवा, शैक्षिक तथा मानवीय अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सन्दर्भमा यसपटक पनि बाढीबाट प्रभावित नागरिकको पीडा कम गर्न राहत वितरण, श्रमदान तथा आवश्यक सहयोगका विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
आग्सुले मानवीय सेवाको भावना कुनै जाति, भाषा वा समुदायमा सीमित नभई सम्पूर्ण समाजप्रतिको साझा उत्तरदायित्व भएको उल्लेख गर्दै यस अभियानमा सहभागी भई पीडित नागरिकको दुःखमा साथ दिन सम्पूर्ण नेतृत्वलाई आह्वान गरेको छ। विपद्को समयमा एकता, सहयोग र सेवाभाव नै सबैभन्दा ठूलो शक्ति हुने विश्वास व्यक्त गर्दै संगठनले सबै तहका नेतृत्वलाई अभियानलाई प्रभावकारी र सफल बनाउन सक्रिय योगदान दिन अनुरोध गरेको छ।
आग्सुले यस अभियानमार्फत बाढीपीडित परिवारलाई राहत पुर्याउनुका साथै समाजमा मानवीय संवेदना, सहकार्य र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेको छ। साथै, संगठनले आगामी दिनमा पनि विपद्का बेला पीडित जनताको साथमा निरन्तर उभिने प्रतिबद्धता दोहोर्याएको छ।
प्रतिवेदक: सञ्जय छेत्री, मुल सचिव, आग्सु, टङला आञ्चलिक समिति।