
सिलासुती, २२ जुनः अखिल असम गोर्खा छात्र संघ (आग्सु) सिलासुती आञ्चलिक समितिले आफ्नो कार्यक्षेत्रभित्रका आर्थिक रूपमा कमजोर गोरखा छात्र–छात्राहरूको शैक्षिक समस्यालाई सम्बोधन गर्ने उद्देश्यले डिमो चाबुवानी महाविद्यालय प्रशासनसमक्ष विशेष पहल गरेको छ। यसै क्रममा आज आग्सु सिलासुती आञ्चलिक समितिको नेतृत्वमा महाविद्यालयका अध्यक्ष तथा एकाडेमिक इन्चार्जलाई भेट गरी आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई राहत प्रदान गर्न अनुरोधसहित आवेदनपत्र हस्तान्तरण गरिएको हो।
आवेदनपत्रमार्फत आग्सुले सिलासुती आञ्चलिक क्षेत्रका धेरै गोरखा विद्यार्थीहरू डिमो चाबुवानी महाविद्यालयमा अध्ययनरत रहेको उल्लेख गर्दै उनीहरूमध्ये केही विद्यार्थीहरूको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेको जानकारी गराएको छ। आर्थिक अभावका कारण कतिपय विद्यार्थीहरूलाई नियमित रूपमा मासिक शुल्क तथा अन्य शैक्षिक शुल्क तिर्न कठिनाइ भइरहेको अवस्थाप्रति संघले महाविद्यालय प्रशासनको ध्यानाकर्षण गराएको छ।
आग्सुले शिक्षा प्रत्येक विद्यार्थीको मौलिक अधिकार भएको उल्लेख गर्दै आर्थिक समस्याका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नहुने धारणा व्यक्त गरेको छ। सोही भावनाअनुसार आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई मासिक शुल्क, फर्म फिल–अप शुल्क तथा अन्य आवश्यक शैक्षिक शुल्कमा पूर्ण वा आंशिक छुटको व्यवस्था गरिदिन महाविद्यालय प्रशासनसँग अनुरोध गरिएको छ।
आवेदनपत्रमा विशेष रूपमा प्रथम वर्ष माध्यमिक कक्षाका छात्रा मालिका देउरी तथा छात्र विवेक उपाध्यायको नाम उल्लेख गर्दै उनीहरूलाई आवश्यक शैक्षिक सहुलियत प्रदान गर्न आग्रह गरिएको छ। आग्सुले यस्ता विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएमा उनीहरूको अध्ययनलाई निरन्तरता दिन सहज हुने र शिक्षाप्रति उत्साह थप बढ्ने विश्वास व्यक्त गरेको छ।
यस अवसरमा आग्सु सिलासुती आञ्चलिक समितिका पदाधिकारीहरूले महाविद्यालय प्रशासनसँग विद्यार्थी हितका विविध विषयमा समेत छलफल गरेका थिए। महाविद्यालय प्रशासनले प्रस्तुत आवेदनपत्रलाई सकारात्मक रूपमा अध्ययन गरी आवश्यक कदम चाल्ने आश्वासन दिएको जानकारी प्राप्त भएको छ।
विद्यार्थीहरूको शैक्षिक, सामाजिक तथा अधिकारसम्बन्धी मुद्दामा निरन्तर आवाज उठाउँदै आएको अखिल असम गोर्खा छात्र संघले आगामी दिनहरूमा पनि आर्थिक रूपमा कमजोर तथा पिछडिएका विद्यार्थीहरूको पक्षमा यस्ता पहलहरूलाई निरन्तरता दिने जनाएको छ। संघका अनुसार शिक्षा क्षेत्रमा समान अवसर सुनिश्चित गर्न सम्बन्धित शैक्षिक संस्थाहरू, अभिभावक तथा समाजका विभिन्न पक्षबीच सहकार्य आवश्यक रहेको र त्यस दिशामा आग्सुले आफ्नो दायित्व निर्वाह गर्दै जानेछ।
प्रतिवेदक: अरुण खतिवडा- सभापति, सिलासुति आञ्चलिक समिति।