
उदालगुडी, २४ जुलाई : उदालगुडी उच्चतर माध्यमिक विद्यालयका शिक्षक तथा असम नेपाली साहित्य सभा उदालगुडी जिल्ला समितिका उपसभापति मोहन कुमार छेत्रीलाई “शिक्षक प्रकाशन संस्था”, असमद्वारा डा. सर्वपल्ली राधाकृष्णनको स्मृतिमा प्रदान गरिने प्रतिष्ठित “गुरु चरित पुरस्कार” का लागि छनोट गरिएको अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) खौराङ आञ्चलिक समितिले उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
यस अवसरमा २४ जुलाईका दिन आग्सु खौराङ आञ्चलिक समितिको एक प्रतिनिधिमण्डल मोहन कुमार छेत्रीको बासगृहमा पुगेर उहाँलाई खादा ओढाई सम्मान गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरेको थियो। प्रतिनिधिमण्डलले शिक्षा, साहित्य तथा समाजप्रतिको उहाँको समर्पित योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्तै प्रेरणादायी कार्यमार्फत समाजलाई मार्गदर्शन गरिरहन शुभकामना व्यक्त गरेको जनाएको छ।
उक्त प्रतिनिधिमण्डलमा आग्सु उदालगुडी जिल्ला समितिका उपसभापति दुर्गा बस्नेत, कार्यालय सचिव राम बस्नेत, आग्सु खौराङ आञ्चलिक समितिका सभापति बीर बहादुर छेत्री, सचिव नारायण दाहाल, शिक्षा सचिवद्वय ललित छेत्री तथा सन्तोष शर्माको उपस्थिति रहेको थियो।
आग्सु खौराङ आञ्चलिक समितिले मोहन कुमार छेत्रीको यस उपलब्धिले सम्पूर्ण गोर्खा समाज तथा शैक्षिक क्षेत्रको गौरव बढाएको उल्लेख गर्दै उहाँको आगामी जीवन अझ सफल, सिर्जनशील र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।