All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #57
•
November 19, 2026

आग्सु नगाउँ सदर अन्तर–महाविद्यालय एकाइ गठन, तुलसी गुरुङ सभापति र ध्रुव छेत्री मूल–सचिवमा चयन

📅 November 19, 2026
✍️ AAGSU
🕒 12:07 AM

नगाउँ, 18 नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), नगाउँ जिल्ला समितिको पहलमा नगाउँ टाउन क्षेत्रका विभिन्न महाविद्यालयमा अध्ययनरत गोर्खा विद्यार्थीहरूलाई एकीकृत गर्दै १९ नोभेम्बर २०२६ का दिन आग्सु नगाउँ सदर अन्तर–महाविद्यालय एकाइ गठन गरिएको छ।

नगाउँ क्षेत्रका गोर्खा विद्यार्थीहरूलाई एउटै सांगठनिक मञ्चमा आबद्ध गराई उनीहरूको हक, हित, अधिकार तथा शैक्षिक र सामाजिक समस्याहरूलाई सामूहिक रूपमा उठान गर्ने उद्देश्यका साथ उक्त एकाइ गठन गरिएको हो। नवगठित एकाइको सभापति पदमा श्री तुलसी गुरुङ तथा मूल–सचिव पदमा श्री ध्रुव छेत्री चयन हुनुभएको छ।

उक्त एकाइ गठन कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिका साहित्य सचिव श्री कुलदीप छेत्री, नगाउँ जिल्ला समितिका सभापति श्री रोहित शर्मा, मूल–सचिव श्री रोशन बराल, पत्रिका सचिव श्री पंकज निरौला तथा प्रचार सचिव श्री टिंकु छेत्रीको गरिमामय उपस्थिति रहेको थियो। उपस्थित केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरूले विद्यार्थीहरूबीच सांगठनिक एकता, आपसी सहकार्य र सक्रिय सहभागिताको आवश्यकतामाथि जोड दिनुभएको थियो।

कार्यक्रममा नगाउँ टाउन क्षेत्रका विभिन्न महाविद्यालयमा अध्ययनरत गोर्खा विद्यार्थीहरूलाई संगठित गर्दै उनीहरूको शैक्षिक अवस्था, विद्यार्थीसम्बन्धी समस्या, अधिकार तथा अवसरका विषयमा साझा धारणा निर्माण गर्नुपर्ने आवश्यकतामाथि छलफल गरिएको थियो। साथै, विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति जागरूकता बढाउन संगठनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो।

यस अन्तर–महाविद्यालय एकाइ गठनको मुख्य उद्देश्य नगाउँ क्षेत्रका गोर्खा विद्यार्थीहरूलाई संगठनको मूल प्रवाहमा समेट्दै उनीहरूको शैक्षिक, सामाजिक, सांस्कृतिक तथा सांगठनिक हितका विषयमा संगठित रूपमा आवाज उठाउनु रहेको छ। यसका अतिरिक्त गोर्खा समुदायको भाषा, साहित्य, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र संवर्द्धनमा युवा विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु पनि यस पहलको महत्वपूर्ण लक्ष्य रहेको छ।

नगाउँ सदर अन्तर–महाविद्यालय एकाइ गठनसँगै नगाउँ जिल्लामा आग्सुको सांगठनिक गतिविधिलाई थप विस्तार तथा सुदृढ बनाउन नयाँ आधार तयार भएको विश्वास व्यक्त गरिएको छ। नवगठित एकाइले आगामी दिनहरूमा विद्यार्थीहरूबीच समन्वय, सहकार्य र संगठनात्मक चेतना अभिवृद्धि गर्दै विद्यार्थीहरूको हकहितका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले नवगठित एकाइका सभापति, मूल–सचिवलगायत सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्दछ।

प्रतिवेदक : रोहित शर्मा-सभापति, नगाउँ जिल्ला समिति

📤 Share this story
Scroll to Top