All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #57
•
November 19, 2026

नदुवार क्षेत्रमा चार गोर्खा युवाको अस्वाभाविक मृत्युको घटनामा CBI जाँचको माग, गृह सचिव तथा अभिभावक मन्त्रीलाई ज्ञापनपत्र

📅 November 19, 2026
✍️ AAGSU
🕒 12:01 AM

गुवाहाटी, १७ नोभेम्बर : शोणितपुर जिल्लाको नदुवार विधानसभा क्षेत्रभित्र सन् २०२६ मा चार जना गोर्खा युवाको अस्वाभाविक मृत्युका घटनाले स्थानीय समुदायमा गम्भीर चिन्ता र असुरक्षाको भावना उत्पन्न गरेको छ। उक्त घटनाहरूको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले असम सरकारसमक्ष उच्चस्तरीय CBI जाँचको माग गरेको छ।

यसै सन्दर्भमा आग्सुको प्रतिनिधिमण्डलले सोमबार असम सरकारका गृह सचिवसमक्ष भेट गरी नदुवार क्षेत्रमा गोर्खा युवाहरूको अस्वाभाविक मृत्युका घटनाबारे विस्तृत रूपमा अवगत गराउँदै उच्चस्तरीय CBI जाँचको मागसहित ज्ञापनपत्र बुझाएको थियो। त्यसैगरी, मंगलबार असम सरकारका क्याबिनेट मन्त्री तथा शोणितपुर जिल्लाका अभिभावक मन्त्री विश्वजित दमैरीसमक्ष पनि ज्ञापनपत्र बुझाउँदै उक्त घटनाहरूको निष्पक्ष अनुसन्धान, घटनाको वास्तविक कारण सार्वजनिक गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारको हस्तक्षेपको माग गरिएको थियो।

विशेषगरी दीपातोलाका स्वर्गीय मनोज छेत्री तथा लोक्राका स्वर्गीय सन्तोष शर्माको रहस्यमय मृत्युका घटनालाई संगठनले गम्भीरताका साथ उठाएको छ। एउटै क्षेत्रमा लगातार गोर्खा युवाहरूको अस्वाभाविक मृत्युका घटनाहरू भइरहनु अत्यन्त चिन्ताजनक विषय भएको आग्सुले जनाएको छ।

आग्सु केन्द्रीय समितिका सभापति नोमल छेत्री, मूल-सचिव सोमराज सोनारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा संगठनिक सचिव दीपक सुब्बा, संगठनिक सचिव किरण खड्का तथा तुलसी दर्नालको उपस्थिति रहेको थियो।

ज्ञापनपत्रमार्फत संगठनले सन् २०२६ मा नदुवार क्षेत्रमा भएका गोर्खा युवाहरूको अस्वाभाविक मृत्युका घटनाहरूको CBI मार्फत विस्तृत, निष्पक्ष एवं पारदर्शी अनुसन्धान गराउन, घटनाहरूबीच कुनै आपसी सम्बन्ध भए–नभएको तथ्य पत्ता लगाउन तथा नदुवार क्षेत्रमा बसोबास गर्ने गोर्खा समुदायको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ।

एक जिम्मेवार सामाजिक तथा युवा संगठनका रूपमा आग्सुले यस्ता दुःखद घटनाहरूको पुनरावृत्ति रोक्न, प्रत्येक पीडित परिवारले न्याय पाउने वातावरण सुनिश्चित गर्न तथा समुदायमा शान्ति र सुरक्षाको भावना कायम राख्न सरकारको गम्भीर हस्तक्षेप आवश्यक रहेको जनाएको छ। घटनाहरूको निष्पक्ष अनुसन्धान गरी वास्तविक तथ्य सार्वजनिक गर्न र दोषी देखिएमा कानुनी कारबाही अघि बढाउन संगठनले सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

प्रतिवेदक: विप्लव चिमरीया- मूल-सचिव, तामुलपुर जिल्ला समिति।

📤 Share this story
← First Story in Issue
Scroll to Top