All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #49
•
September 24, 2026

छयदुवार महाविद्यालयको सभापतिमा AAGSU समर्थित नेहा छेत्री निर्वाचित

📅 September 24, 2026
✍️ AAGSU
🕒 12:09 AM

गहपुर,: सहिद नगरी गहपुरस्थित छयदुवार महाविद्यालयको सन् २०२६–२७ शैक्षिक वर्षका लागि सम्पन्न साधारण निर्वाचनमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) को प्रतिनिधित्व गर्दै सभापति पदमा नेहा छेत्री निर्वाचित भएकी छन्। उनको यो विजय विद्यार्थी समुदाय तथा गोर्खा समाजका लागि उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ।

नारी समाज निर्माण गर्ने असीम शक्ति भएको उल्लेख गर्दै नेहा छेत्रीको नेतृत्वमा भएको यो सफलता अन्य छात्रा तथा युवतीहरूका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरिएको छ। विद्यार्थी राजनीतिमा महिलाको नेतृत्व र सहभागिता अभिवृद्धि गर्न यस प्रकारका उपलब्धिले सकारात्मक सन्देश दिने बताइएको छ।

नेहा छेत्रीलाई सभापति पदमा निर्वाचित गराउन अखिल असम गोर्खा छात्र संघ, छयदुवार महाविद्यालय इकाइका सभापति सुरज दर्जी, मूल–सचिव पूजा सोनारीलगायत सम्पूर्ण इकाइका सदस्यहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै, AAGSU गहपुर आञ्चलिक समिति, राजगढ आञ्चलिक समिति, बेगिजान आञ्चलिक समिति र गमिरी आञ्चलिक समितिलगायत सहयोगी कार्यकर्ताहरूको पनि सक्रिय सहयोग रहेको थियो।

नेहा छेत्रीको निर्वाचित नेतृत्वले आगामी कार्यकालमा विद्यार्थीहरूको हित, शैक्षिक वातावरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सकारात्मक पहल गर्ने अपेक्षा गरिएको छ। उनको ऐतिहासिक उपलब्धिप्रति AAGSU तथा गोर्खा समाजका विभिन्न तहबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

सम्पूर्ण सहिद नगरी गहपुरको विद्यार्थी नेतृत्वमा नेहा छेत्रीको नयाँ अध्याय सुरु भएको उल्लेख गर्दै उहाँको सफल कार्यकालको कामना गरिएको छ।

प्रतिवेदक : निरज छेत्री, प्रचार सचिव, गहपुर आञ्चलिक समिति

📤 Share this story
Last Story in Issue →
Scroll to Top