All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #51
•
October 8, 2026

स्वर्गीय पद्म प्रधानप्रति आग्सु उदालगुडी जिल्ला समितिद्वारा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना

📅 October 8, 2026
✍️ AAGSU
🕒 12:05 AM

उदालगुडी, ६ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बामुनजुली आञ्चलिक समितिका संस्थापक मूल सचिव तथा परवर्ती सभापति, निष्ठावान शिक्षक एवं समाजसेवी स्वर्गीय पद्म प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै आग्सु उदालगुडी जिल्ला समितिको एक प्रतिनिधि मण्डली आज उहाँको निवासमा पुगेर शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

स्वर्गीय प्रधानको गत २६ सेप्टेम्बर २०२६ मा आकस्मिक निधन भएको थियो। उहाँ बामुनजुली आञ्चलिक समितिको संगठन निर्माणको प्रारम्भिक चरणदेखि नै सक्रिय रूपमा संलग्न रहनुभएको थियो। संस्थापक मूल सचिवको जिम्मेवारी सम्हाल्दै उहाँले संगठनको आधार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। पछि आञ्चलिक समितिको सभापतिको जिम्मेवारीसमेत सम्हाल्नुभएका उहाँले संगठनको सुदृढीकरण, गोर्खा समाजको एकता तथा सामाजिक उत्थानका क्षेत्रमा पुर्‍याउनुभएको योगदान स्मरणीय रहेको छ।

श्रद्धाञ्जली तथा समवेदना कार्यक्रममा आग्सु उदालगुडी जिल्ला समितिका सभापति विकास भट्टराई, मूल सचिव रुपम आत्रेय, क्षेत्रीय समितिका वित्त सचिव मनिराज छेत्री, जिल्ला समितिका अन्य पदाधिकारी तथा सदस्यहरू, बामुनजुली आञ्चलिक समितिका सभापति, मूल सचिवलगायत पदाधिकारी तथा छात्रकर्मीहरूको उपस्थिति रहेको थियो। साथै सामराङ क्षेत्रका पूर्व आग्सु कर्मी तथा बुद्धिजीवीहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित नेतृत्व तथा कार्यकर्ताहरूले स्वर्गीय पद्म प्रधानप्रति श्रद्धासुमन अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे। साथै शोकसन्तप्त परिवारजनलाई यस अपूरणीय क्षतिको पीडा सहन गर्ने धैर्य तथा शक्ति प्राप्त होस् भनी प्रार्थना गर्दै गहिरो समवेदना व्यक्त गरे।

स्वर्गीय पद्म प्रधानको संगठनप्रतिको निष्ठा, समाजप्रतिको समर्पण, शिक्षण सेवाप्रतिको प्रतिबद्धता तथा गोर्खा समाजको हितका लागि उहाँले पुर्‍याउनुभएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहनेछ। उहाँको निधनले आग्सु तथा समग्र गोर्खा समाजमा अपूरणीय क्षति पुगेको जिल्ला समितिले जनाएको छ।

प्रतिवेदक: श्री पदम राउत, मुखपात्र सचिव, आग्सु, उदालगुडी जिला समिति।

📤 Share this story
Scroll to Top