
निकासी, १४ फेब्रुअरी २०२६ (शनिबार): अखिल असम गोर्खा छात्र संघ बाक्सा जिल्ला समिति को वर्धित कार्यकारिणी सभा आज निकासीस्थित आग्सु कार्यालयमा उत्साहपूर्ण वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ।
सभाले जिल्ला समितिको आगामी जिल्ला अधिवेशन मिति ११ र १२ अप्रिल २०२६ मा दुई दिने कार्यक्रमका रूपमा सभ्य, भव्य तथा व्यवस्थित ढङ्गले आयोजना गर्ने महत्वपूर्ण निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ। उक्त अधिवेशन निकासीमा बाक्सा आञ्चलिक समितिको आतिथ्यमा सम्पन्न हुने निर्णय गरिएको छ।
उक्त ऐतिहासिक सभामा बाक्सा जिल्लाअन्तर्गतका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय तथा गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला अध्यक्ष, महासचिव लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता देखिएको थियो। साथै राजु सुवेदी, सचिव, आग्सु बीटीसी क्षेत्रीय समिति; दिपेन्द्र कार्की, उपाध्यक्ष, आग्सु बीटीसी क्षेत्रीय समिति तथा तिलक भट्टराई, स्वयंसेवक प्रमुख, केन्द्रीय आग्सुको विशेष तथा प्रेरणादायी उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्लाअन्तर्गत सम्पूर्ण आञ्चलिक समितिका अध्यक्षहरूको सहभागिताले सभालाई अझ प्रभावकारी तथा उपलब्धिमूलक बनाएको थियो।
सभामा अधिवेशन सफल पार्न आवश्यक आर्थिक व्यवस्थापन, प्रचार–प्रसार, स्वयंसेवक परिचालन, आवास तथा अतिथि सत्कार व्यवस्थापन लगायतका विषयहरूमा विस्तृत तथा गहन छलफल गरिएको जनाइएको छ। अधिवेशनलाई अनुशासित, संगठित तथा ऐतिहासिक बनाउने लक्ष्यका साथ विभिन्न उपसमितिहरू गठन गर्ने विषयमा समेत सहमति भएको छ।
जिल्ला समितिले आगामी अधिवेशनलाई संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिँदै सम्पूर्ण आञ्चलिक समिति, कार्यकर्ता, शुभेच्छुक तथा विद्यार्थी समुदायलाई एकजुट भई सक्रिय सहयोग गर्न हार्दिक आह्वान गरेको छ।
प्रतिवेदक: सुमन डुंगेल- प्रचार सचिव(IT Incharge) ,बाक्सा जिला समिति।