
गुवाहाटी, १६ नोभेम्बरः अखिल असम गोर्खा छात्र संघ (आग्सु) कामरूप-महानगर जिल्ला समिति, नेपाली मन्दिर प्रवन्धक समिति तथा मारवाडी युवा मन्चको संयुक्त पहलमा आज आग्सु मुख्यालय परिसरमा भव्य, व्यवस्थित र अनुकरणीय “रक्तदान शिविर” सफलता पूर्वक सम्पन्न गरिएको छ। समाजसेवा र मानवीय कर्तव्यबोधलाई केन्द्रमा राखेर आयोजना गरिएको यस शिविरले संगठनगत एकता, सामाजिक उत्तरदायित्व र स्वास्थ्य जागरूकतालाई बलियो रूपमा स्थापित गरेको देखियो।
यस वर्षको रक्तदान शिविर प्रयात प्रख्यात शिल्पि जुविन गार्ग ज्युको ५३ औँ जन्मदिनको स्मरणमा समर्पित गरिएको थियो। दिवंगत कलाकारप्रति श्रद्धाञ्जलि अर्पित गर्दै हजारौँ दर्शकदर्शकमनको मनमा बस्न सफल कलाकारको योगदानलाई समाज–सेवामार्फत याद गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा युवादेखि समाजसेवी, विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति देखियो।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु ) कामरूप-महानगर जिल्ला समितिका सभापति अमित पौडेल र मूल–सचिव उत्तम शर्मा को सक्रिय नेतृत्व र समन्वय प्रशंसनीय बन्यो। समिति सदस्यहरूको सुसंगठित व्यवस्थापन, दाइत्वपूर्ण गतिविधि तथा स्वयम्सेवकहरूको सक्रिय सहयोगले शिविरलाई अत्यन्तै व्यवस्थित रूपमा सञ्चालन गर्न मद्दत गर्यो।
साथै, अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिका शिक्षा सचिव तिन्कु पौडेल विशेष उपस्थितिमा रहनुभयो। उहाँले रक्तदानलाई “जीवनदान” जस्तै पवित्र कर्म उल्लेख गर्दै आग्सुले समाज–सेवामा निरन्तर नेतृत्वदायी भूमिका खेलिरहेको कुरा जोड दिए।
शिविरमा नेपाली मन्दिर प्रवन्धक समितिका पदाधिकारीहरूको पनि उल्लेखनीय सहभागिता रह्यो। समितिका अध्यक्ष गंगा प्रसाद पौडेल, सचिव पदम रिजाल तथा विभिन्न पदाधिकारीहरूको सक्रिय सहयोगले कार्यक्रमलाई अझ प्रभावकारी बनायो।
त्यसैगरी, मारवाडी युवा मन्च, गुवाहाटी समृद्धि शाखाकी सभानेत्री श्रीमती रीना बारारिया, श्रीमती बजरंग सुराना, श्रीमती सुनेहा मोड़े तथा अन्य सदस्यहरूको योगदान पनि उल्लेख्य रह्यो। समाजसेवी अभिचन्द्र पाठक, गुवाहाटी विश्वविद्यालय गोर्खा युनिटका सदस्यहरू, बी. बोरूआ कलेज गोर्खा युनिटका सदस्यहरू तथा अन्य स्वयंसेवकहरूले कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निभाए।
कामरूप-महानगर जिल्ला समितिका सांस्कृतिक सचिव गाेपालराज शर्मा सहित अन्य विभिन्न विषयबबिया/पदाधिकारीहरूको सक्रिय उपस्थिति र सहयोगले शिविरमा उत्साह थपिएको थियो। सहभागी रक्तदाताहरूलाई स्वास्थ्य परीक्षण, सुरक्षित रक्त सङ्कलन तथा आवश्यक परामर्श प्रदान गर्दै कार्यक्रम अत्यन्तै व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले जानकारी दिएका छन्।
कार्यक्रमलाई सफल बनाउन योगदान गर्ने सबै संघ–संस्था, स्वयंसेवक, विद्यार्थी तथा सहयोगीहरूलाई आयोजक समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। समाजमा मानवताको सेवा माध्यमबाट सकारात्मक ऊर्जा फैलाएका यस रक्तदान शिविरले असमका बिरामीहरूलाई जीवनरक्षक सहयोग प्रदान गर्ने गहिरो आशा व्यक्त गरिएको छ।
प्रतिवेदन:
अमित पौडेल-सभापति, कामरूप-महानगर जिल्ला समिति, (आग्सु)
