
बोकाखात, नवेम्बर २: अखिल असम गोर्खा छात्र संघ (AAGSU) गोलाघाट जिल्ला समितिको आयोजन र बोकाखात आञ्चलिक समितिको विशेष पहलमा गत आइतबार, २ नवेम्बरका दिन बोकाखात कलेजमा एक विशेष कार्यक्रम अत्यन्त उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।
कार्यक्रमले गोर्खा विद्यार्थी समाजमा संगठनात्मक ऐक्य, जिम्मेवारी भावना र नयाँ पुस्तामा नेतृत्व विकासको सन्देश प्रवाह गरेको देखिन्थ्यो।
कार्यक्रमको प्रारम्भ अखिल असम गोर्खा छात्र संघको झन्डा को उत्तोलनले गरियो। द्वीप प्रज्वलन गर्दै उद्घाटन सभासत्र प्रारम्भ गरियो । उद्घाटन सत्रमा गोलाघाट जिल्ला समितिका पदाधिकारीहरूले विद्यार्थीहरूलाई संगठनप्रति समर्पित रहन र अनुशासनमा जीवन्त उदाहरण प्रस्तुत गर्न प्रेरित गरेका थिए।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ गोलाघाट जिल्ला समितिका मूल–सचिव श्री रुद्र क्षेत्री, सचिव सुमन छेत्री, सचिव मनिष भारद्वाज,संगठनिक सचिव श्री दब्राई भारती, सचिव आनिसा घिमीरे, वित्त सचिव कमल क्षेत्री लगायतका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, बोकाखातका वरिष्ठ समाजसेवी तथा विभिन्न विद्यालयका शिक्षक–शिक्षिकाहरू पनि कार्यक्रमका साक्षी बनेका थिए।
गोलाघाट जिला मूल–सचिव रुद्र क्षेत्रीले आफ्नो सम्बोधनमा संघको ऐतिहासिक भूमिका र गोर्खा छात्र आन्दोलनको उद्देश्यबारे प्रकाश पार्दै भने,
“हामी विद्यार्थीहरू समाजका वास्तविक निर्माणकर्ता हौँ। संगठनको माध्यमबाट हामीले न केवल आफ्ना अधिकार र पहिचानको रक्षा गर्न सक्छौँ, बरु सम्पूर्ण समाजको विकासमा अग्रणी भूमिका निर्वाह गर्न सक्छौँ।”
उनले विद्यार्थीहरूलाई सचेत, जिम्मेवार र अध्ययनशील रहन आग्रह गरे।
सचिव सुमन छेत्रीले आफ्नो मन्तव्यमा नयाँ पुस्तामा नेतृत्व विकासको आवश्यकता र संगठनात्मक ज्ञानको महत्त्वबारे चर्चा गर्दै भने,
“AAGSU एउटा परिवार हो, जसले युवा पुस्तालाई राष्ट्रप्रेम, सामाजिक चेतना र जनसेवाको बाटोमा अघि बढाउँछ।”
अन्य वक्ताहरूले पनि संगठनका लक्ष्य, उद्देश्य र स्थानीय समस्याहरूमा विद्यार्थीहरूको भूमिकासम्बन्धी महत्वपूर्ण विचारहरू व्यक्त गरेका थिए। उपस्थित अतिथिहरूले बोकाखात क्षेत्रका विद्यार्थीहरूमा देखिएको अनुशासन, उत्साह र सक्रियतालाई उच्च सराहना गरेका थिए।
कार्यक्रमको दोस्रो सत्र नयाँ नेतृत्व गठनका लागि समर्पित गरिएको थियो। सर्वसम्मत निर्णयद्वारा बोकाखात महाविद्यालय इकाईको नयाँ समिति घोषणा गरिएको छ।
यस समितिका सभापति पदमा अनिश शर्मा र मूल-सचिव पदमा स्मिता उपाध्यायलाई चयन गरिएको हो। नयाँ नेतृत्व चयनसँगै कलेज युनिटमा संगठनात्मक गतिविधि अझ सशक्त हुने अपेक्षा गरिएको छ।
यसै क्रममा नयाँ समितिमा उप–सभापति: स्वरूप क्षेत्री, गौरव सापकोटा, अनिश न्यौपाने, अनिशा क्षेत्री, सांस्कृतिक सचिव: प्रोविङ शर्मा सह–सांस्कृतिक सचिव: अभिष शर्मा सांगठनिक सचिव: तिलक क्षेत्री,निशान्त क्षेत्री, मुखपत्र सचिव: सुमन राई साथ सथै राम क्षेत्री, सुरज प्रधान, सोम उपाध्याय, कृष्ण क्षेत्री, विष्णु क्षेत्री, रूपा लिम्बु, सभिता दर्जी, पवन विजर, समेर सुब्बा, बिप्लव क्षेत्री, मनीष क्षेत्री लाइ कार्यकारिणी सदस्य नियुक्त गरियो ।
नयाँ समिति गठनपछि सभापति अनिश शर्माले आफ्नो सम्बोधनमा सबै सदस्यप्रति आभार व्यक्त गर्दै भने,
“हामी यो जिम्मेवारीलाई अवसरका रूपमा लिँदै संगठनका लक्ष्य र उद्देश्यप्रति निष्ठावान रहनेछौँ। AAGSU ले दिन खोजेको सन्देश — एकता र आत्मसम्मान — लाई विद्यार्थी समुदायमा फैलाउने हाम्रो पहिलो प्राथमिकता हुनेछ।”
सचिव स्मिता उपाध्यायले विद्यार्थी अधिकार, शिक्षाको गुणस्तर र स्थानीय समस्याहरू समाधानमा एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाइन्। उनका अनुसार,
“AAGSU बोकाखात कलेज युनिट विद्यार्थीहरूको स्वर बन्नेछ — जहाँ हरेक आवाज सुन्ने र हरेक समस्या समाधान गर्ने प्रयास हुनेछ।”
कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन AAGSU गोलाघाटका संगठन सचिव दब्राई भारतीले गरे।
उनीले सबै सदस्य, अतिथि र विद्यार्थीहरूको सहभागिताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता रचनात्मक गतिविधिहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
बोकाखात महाविद्यालयमा सम्पन्न यो कार्यक्रमले विद्यार्थीहरूमा नयाँ ऊर्जा, उत्साह र संगठनप्रतिको भरोसा जगाएको छ।
उपस्थित सबैले नयाँ नेतृत्वलाई हार्दिक बधाई दिँदै उज्ज्वल कार्यकालको शुभकामना व्यक्त गरे।
कार्यक्रमको सफल सम्पन्नतासँगै गोलाघाट जिल्ला समितिको संगठनात्मक बल अझ सबल बनेको आभास भएको छ।
स्थानीय स्तरमा विद्यार्थी एकता, सामाजिक चेतना र गोर्खा पहिचानको रक्षा अभियानलाई यो नयाँ नेतृत्वले अझ सशक्त रूपमा अघि बढाउने विश्वास गरिएको छ।
✒ अनिश शर्मा – सभापति, बोकाखात कलेज इकाई (AAGSU)
