All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #13
January 15, 2026

आग्सु बङगाईगाउँद्वारा दुईदिने ब्याडमिन्टन प्रतियोगिता आयोजना

📅 January 15, 2026
✍️ AAGSU
🕒 12:05 AM

बङगाईगाउँ, १० जनवरी : अखिल असम गोर्खा छात्र संघ (आग्सु) बङगाईगाउँ ज़िल्ला समितिको पहल तथा जिल्लाअन्तर्गतका सम्पूर्ण आञ्चलिक र शाखा समितिहरूको संयुक्त सहयोगमा एक भव्य दुईदिने ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। गोर्खा युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै शारीरिक तन्दुरुस्ती, अनुशासन, आपसी सद्भाव तथा सकारात्मक खेल भावना विकास गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आयोजक समितिले जनाएको अनुसार आजको प्रतिस्पर्धात्मक समयमा खेलकुद युवाहरूको समग्र विकासको एक महत्वपूर्ण आधार बनेको छ। खेलकुदले युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउनुका साथै अनुशासित र जिम्मेवार नागरिकका रूपमा विकास गर्न मद्दत पुर्‍याउँछ। यही भावनालाई आत्मसात् गर्दै आग्सु बङगाईगाउँ ज़िल्ला समितिले जिल्लाका गोर्खा युवाहरूलाई संगठित रूपमा खेलकुद गतिविधिमा सहभागी गराउने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागेको स्पष्ट पारेको छ।

उक्त प्रतियोगितामार्फत जिल्लामा लुकेर रहेका खेल प्रतिभाहरूको पहिचान गर्दै उनीहरूलाई उचित मञ्च प्रदान गर्ने प्रयास गरिएको छ। यसले भविष्यमा राज्य तथा केन्द्रीय स्तरका प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। साथै, खेलकुदमार्फत युवाहरूबीच आपसी समझदारी, एकता र सहकार्यको भावना अझ मजबुत हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताको तयारी कार्य हाल तीव्र रूपमा अघि बढिरहेको छ। खेल मैदान निर्माण, आवश्यक पूर्वाधारको व्यवस्थापन, प्रचार–प्रसार तथा प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको नियमित अभ्यास कार्य व्यवस्थित ढङ्गले सञ्चालन भइरहेको आयोजक समितिले जनाएको छ। जिल्लाका सबै आञ्चलिक र शाखा समितिहरूले आ–आफ्नो जिम्मेवारी सम्हाल्दै कार्यक्रमलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

यसै अवसरमा बङगाईगाउँ जिल्लाका त्यस्ता गोर्खा खेलाडीहरूलाई विशेष सम्मान गरिने निर्णय पनि गरिएको छ, जसले विभिन्न खेल विधामा केन्द्रीय, राज्य तथा जिल्ला स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन्। अनुभवी खेलाडीहरूको सम्मानले नवप्रवेशी तथा युवा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने र खेलकुद क्षेत्रमा निरन्तर अघि बढ्न उत्साहित गर्ने विश्वास लिइएको छ।

आग्सु बङगाईगाउँ ज़िल्ला समितिले उक्त ब्याडमिन्टन प्रतियोगितालाई केवल खेल प्रतिस्पर्धाको रूपमा मात्र नभई सामाजिक एकता, युवा सशक्तीकरण र समुदायको समग्र विकाससँग जोडेर हेरेको जनाएको छ। यस कार्यक्रममार्फत युवाशक्तिलाई सकारात्मक दिशामा परिचालन गर्दै समाजमा अनुशासन र सौहार्दताको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ।

आयोजक समितिले जिल्लाका सम्पूर्ण खेलप्रेमी, अभिभावक, समाजसेवी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्‍याउन आह्वान गरेको छ। उक्त ब्याडमिन्टन प्रतियोगिता आगामी १७ र १८ जनवरी २०२६ का दिन दोलाइगाउँ उजानपारा भाग–I (कुकुरमारी), बङगाईगाउँ, असममा सम्पन्न हुने जानकारी दिइएको छ। दुईदिने प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट उल्लेखनीय संख्यामा खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिवेदन: योगेश गिरि- सुचना एवं प्रविधि सचिव, बङ्गाईगाँउ जिला समिति(आग्सु)।

📤 Share this story
Scroll to Top