All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #24
April 2, 2026

बङगाईगाउँ ज़िल्ला समिति (आग्सु) को बर्धित कार्यकारिणी सभा सम्पन्न

📅 April 2, 2026
✍️ AAGSU
🕒 12:05 AM

बङगाईगाउँ, २९ मार्च २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) अन्तर्गत बङगाईगाउँ ज़िल्ला समितिको बर्धित कार्यकारिणी सभा आज बङगाईगाउँ अन्तर्गत बिर्झोरा टी स्टेटको बोरोलाइन स्थित कम्युनिटी हलमा सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला समितिको आह्वानमा आयोजित उक्त सभामा ज़िल्ला समिति, आञ्चलिक समितिका पदाधिकारी तथा कर्मकर्ताहरूका साथै विभिन्न क्षेत्रका स्थानीय युवाहरूको बाक्लो उपस्थिति रहेको थियो।

सभाको मूल उद्देश्य संगठनप्रति गोर्खा समाजको विश्वास र आस्था कायम राख्दै संगठनलाई अझ सशक्त बनाउने रहेको बताइएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले वर्तमान सामाजिक तथा राजनीतिक परिस्थितिमा संगठनको भूमिकालाई अझ प्रभावकारी बनाउँदै समुदायको हक–अधिकार सुनिश्चित गर्न संगठित प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।

आगामी निर्वाचनलाई केन्द्रमा राख्दै सभामा बङगाईगाउँ ज़िल्ला समितिले आफ्नो भूमिका कस्तो रहने र गोर्खा समुदायको अधिकार सुनिश्चित गर्न कसरी सक्रियता बढाउने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। यस सन्दर्भमा सहभागीहरूले संगठनले सशक्त र स्पष्ट रणनीति अपनाउनुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी, सभामा आञ्चलिक समितिहरूलाई आफ्नो संगठनात्मक अवस्था अझ मजबुत बनाउँदै जातीय उन्नयनका लागि सक्रिय रूपमा कार्य गर्न निर्देशन दिइएको छ। साथै, प्रत्येक गतिविधिको तथ्यगत अभिलेख राख्नुपर्ने विषयमा विशेष जोड दिइएको छ, जसले भविष्यमा संगठनको कामलाई अझ व्यवस्थित र पारदर्शी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

शैक्षिक क्षेत्रमा पनि सभाले महत्वपूर्ण निर्णयहरू लिएको छ। आर्थिक रूपमा कमजोर छात्र–छात्राहरूलाई सहयोग गर्ने उपायहरू, योग्य भएर पनि छात्रवृत्ति प्राप्त गर्न नसक्ने अवस्थाका कारणहरू पहिचान गर्दै त्यसको समाधान खोज्ने विषयमा गहन छलफल गरिएको थियो। यससँगै, शिक्षा क्षेत्रमा अवसरको समान पहुँच सुनिश्चित गर्न संगठनले पहल गर्ने प्रतिबद्धता जनाइएको छ।

सभामा आगामी HSLC तथा HS परीक्षाको नतिजा प्रकाशनपछि सफल विद्यार्थीहरूलाई सम्मान गर्ने तथा विद्यार्थीहरूलाई भविष्यको मार्गदर्शन प्रदान गर्न करियर काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। यसले विद्यार्थीहरूलाई प्रेरणा र सही दिशा दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको अन्त्यतिर संगठन विस्तारलाई प्राथमिकता दिँदै निर्वाचनपश्चात् हालसम्म शाखा समिति गठन नभएका क्षेत्रहरूमा छिटोभन्दा छिटो नयाँ समिति गठन गर्ने निर्णय समेत पारित गरिएको छ। यस कदमले संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउँदै व्यापक जनसमर्थन हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समग्रमा, बङगाईगाउँ ज़िल्ला समितिको उक्त बर्धित कार्यकारिणी सभा संगठन सुदृढीकरण, शैक्षिक उन्नयन तथा समुदायको अधिकार सुनिश्चितताका लागि महत्वपूर्ण दिशानिर्देश तय गर्दै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिवेदक: योगेश गिरि- सुचना एवं प्रविधि सचिव, बङ्गाईगाँउ जिला समिति।

📤 Share this story
Scroll to Top